कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट पाललाई जितको आश, लेखकलाई प्रतिष्ठा जोगाउनु पर्ने दबाव

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा एमाले अघिल्लो जितलाई कायम राखेर बलियो हुने दाउ र काँग्रेस विगतका जितको प्रतिष्ठा फर्काउने लक्ष्य लिएर एमाले र काँग्रेसका प्रतिनिधि सभा सदस्यका दुबै उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

२०६५ मा पहिलो पटक संविधान सभा सदस्य उप निर्वाचनमा लडेकी एमालेबाट पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर इन्चार्ज निरुदेवी पाल यस पटक प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएकी छन् ।

एमालेका निवर्तमान समानुपातिक साँसद उनी अघिल्लो निर्वाचनको जितलाई निरन्तरता दिएर ३ नम्बर क्षेत्रमा एमाले विरासत कायम राख्ने दाउमा छिन् ।

अघिल्लो निर्वाचनमा एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले काँग्रेसका पूर्व मन्त्री रमेश लेखकलाई पराजित गरेका थिए । अहिले उनी पालसित चुनावी प्रतिस्पर्धामा छन् ।

काँग्रेसका केन्द्रीय सदस्य लेखक २०५६ र २०७० गरी कञ्चनपुर ३ मा निर्वाचित भइ सकेका छन् । एमाले उम्मेदवार पाल २०६५ मा संविधान सभा सदस्य उप निर्वाचन लड्दा लेखक समानुपातिक साँसद भएका थिए । पूर्व मन्त्री लेखक २०५६ देखि २०७४ सम्म १८ वर्ष लगातार सत्तामा बसेका छन् ।

लेखकलाई अघिल्लो वर्ष एमालेका निवर्तमान साँसद डा। भट्टले १८ वर्षे सत्ताबाट बाहिर ल्याएका थिए । लेखक २०७४ मा गुमेको विरासत फर्काउन अहिले फेरि चुनावी प्रतिस्पर्धामा आएका छन् ।

एमाले उम्मदवार पाल र काँग्रेसका लेखक दुबै पार्टी नेतृत्वका विश्वासिला हुन् । पाल एमाले अध्यक्ष ओली र लेखक काँग्रेस सभापति देउवाका विश्वासिला हुन् ।

पालका लागि मत माग्न अध्यक्ष ओली कार्तिक १८ गते महेन्द्रनगर आउन लागेका छन् । एमालेमा वडा कमिटीबाट आएका पाल महिला संघ, युवा संघ हुँदै केन्द्रीय कमिटीमा पुगेकी छन् । राष्ट्रिय युवा संघको नेतृत्व गरेपछि उनी पार्टीभित्र नेता भएर स्थापित भएकी छन् ।

विद्यार्थी राजनीतिबाट आएका काँग्रेसका लेखक जिल्ला सचिव हुँदै काँग्रेस केन्द्रीय सदस्यसम्म पुगेका छन् । उनी साँसद भएपछि पटक पटक मन्त्री भई सकेका छन् ।

कञ्चनपुर ३ मा २०५८ देखि हालसम्मका संसदीय र स्थानीय निर्वाचन एमाले, काँग्रेस र माओवादी तीन दलले जितेका छन् । एमालेले २०५१, २०५४ र २०७४ मा यस क्षेत्रमा चुनाव जितेको छ ।

काँग्रेस २०४८, २०७० र २०७९ मा निर्वाचन जितेको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि माओवादी केन्द्रले २०६४ मा संविधान सभा सदस्य निर्वाचन जितेको थियो । २०७४ मा एमाले र माओवादीको वाम गठबन्धनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका सबै सीट जितेको थियो ।

अहिले निर्वाचनमा अघिल्लो निर्वाचनको चुनावी समीकरण फेरिएको छ । काँग्रेसका लेखकले सत्ता साझेदार माओवादी केन्द्रको साथ पाएका छन् । एमाले राप्रपासित चुनावी तालमेल गरी चुनावी मैदानमा होमिएको छ ।

स्थानीय तह निर्वाचनको मत आधारमा भीमदत्त नगरपालिका काँग्रेस र दोधारा चाँदनी नगरपालिका एमाले बलियो छ । वडा अध्यक्षका मतका आधारमा माओवादी केन्द्र भन्दा राप्रपाका बढी मत छन् ।

वडा अध्यक्षहरूको पाएको मत अनुसार एमालेले १६ हजार १२५, कांग्रेसले २१ हजार ७७६, माओवादी केन्द्रले ५ हजार ९८१, राप्रपाले ६ हजार ३८३ र एकीकृत समाजवादीले ३ हजार १२७ मत ल्याएका थिए । नेकपा एकीकृत समाजवादी सत्ता गठबन्धनबाट बाहिर छ ।

भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको प्रमुखको मतका आधारमा एमाले राप्रपा गठबन्धन अगाडि छ । निर्वाचन क्षेत्र नं। ३ का ३० वडामध्ये समाजवादीले बेदकोट नगरपालिका ८ जितेको थियो । भीमदत्तमा एमालेले अधिकाँश वडा गुमाउँदा दोधारा चाँदनीमा काँग्रेसले एक वडा मात्रै जितेको छ ।

स्थानीय तह निर्वाचनमा व्यहोरेको पराजयपछि एमाले अहिले नयाँ उत्साह र नयाँ प्रणको नारा लिएर चुनावी मैदानमा होमिएको छ । स्थानीय तह निर्वाचनमा एमाले पार्टी विभाजन, आठौ जिल्ला अधिवेशन र टिकट वितरणको असन्तुष्टि बोकेर मैदानमा होमिएको थियो ।

एमालेका केन्द्रीय सदस्य र जिल्ला पदाधिकारी उम्मेदवार भएपछि सबै नेता कार्यकर्ता चुनावी प्रचारमा लागेका छन् । राप्रपाको साथले एमालेमा थप उत्साह थपिएको छ ।

सत्ता गठबन्धनको प्रमुख घटक काँग्रेस र माओवादी दुबै टिकट वितरणका आन्तरिक असन्तुष्टिमा घेरिएका छन् । कञ्चनपुर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखक विरुद्ध काँग्रेसका चार जना बागी उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश सभा सदस्यमा छलफल नगरी टिकट वितरण भएपछि काँग्रेस महाधिवेश प्रतिनिध दिपक बहादुर सिह प्रतिनिधि सभा सदस्यमा बागी उम्मेदवार भएका छन् । अर्का नेता पिताम्बर जोशी प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् ।

काँग्रेसका पूर्व कोषाध्यक्ष प्रकाश बहादुर सिह पार्टी छाडेर काँग्रेस बिपी खोलेपछि धेरै नेता कार्यकर्ता सिहसित गएका छन् । काँग्रेसका तत्कालिन दोधारा गाविस सभापति धन बहादुर शाही आफैं प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा आएका छन् ।

काँग्रेस नेताहरु पनि प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखक बागी र काँग्रेस विपी दुबैका कारण अप्ठेरोमा परेको बताउँछन् । ‘बागी र विपी विना स्थानीय तह निर्वाचनमा यो मत आएको हो, अब त्यो जनमत तलमाथि भैहाल्यो,’ काँग्रेसका एक नेताले भने,‘यसमा विपी भन्दा पनि बागी ठूलो समस्या हो ।’

काँग्रेस कञ्चनपुर क्षेत्र नं। ३ का सभापति केशव बहादुर चन्द भने बागी र विपी दुबै समस्या नभएर लेखकले फराकिलो मत अन्तरले चुनाव जित्ने दावी गरे ।

एमाले उम्मेदवार पाल २०७४ को निर्वाचनमा समानुपातिक सांसद भएर अस्पतालको स्तरोन्नतिदेखि विभिन्न काम गरेका कारण पाल यसपालि प्रत्यक्षतर्फ निर्वाचित हुने दाबी गर्छिन् । क्षेत्र नं। ३ मा गत निर्वाचनमा एमाले विजयी भएका कारण त्यसलाई निरन्तरता दिँदै पहिलो पटक प्रत्यक्षबाट निर्वाचितभएर संसद भवन छिर्ने दाउमा छिन् ।

क्षेत्र नं। ३ मा महाकालीपारिको दोधारा चाँदनी नगरपालिकासंँगै भीमदत्त नगरपालिकाका सबै १९ वडा र बेदकोट नगरपालिकाको वडा नं। ८ पर्छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार दोधारा चाँदनी नगरपालिकामा २६ हजार ८१२, बेदकोट ८ मा २ हजार ५५२ र भीमदत्त नगरपालिकामा ६८ हजार ४५८ गरी क्षेत्र नं। ३ मा ९७ हजार ८२२ मतदाता छन् ।

कांग्रेस उम्मेदवार लेखकले आफ्नो पहिलो प्राथमिकता कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने रहेको बताए । भारतबाट नेपाल हुँदै चीनसम्म व्यापारिक केन्द्र बनाउन सकिने उनको धारणा छ ।

व्यापारिकसँगै धार्मिक र पर्यटनको समेत केन्द्र बनाउन सकिने उनले बताए । ‘बन्द रहेको मझगाउँ विमानस्थलको काम तत्काल सुचारु गरिनेछ र विमानस्थल सञ्चालनमा ल्याइनेछ,’ लेखकले भने, ‘महाकालीको बाँधलाई पनि मर्मतसँगै जोगबुडा नदीको बाँधको काम पनि पूरा गरिनेछ ।’ उनले महाकाली प्रादेशिक अस्पतालको सेवालाई पनि स्तरोन्नति गरिने बताए ।

एमाले उम्मेदवार पालले बन्द भएको महकाली करिडोरको काम र मझगाउँ विमानस्थलको काम सुचारु गर्ने आफ्नो प्रमुख चुनावी एजेन्डा भएको बताइन् । उनले एमाले सरकारका बखत सुरु भएको करिडोर र विमानस्थलको काम अहिलेको सरकारले स्थगित गरेको भन्दै त्यसलाई सुचारु गर्ने बताइन् ।

यसैगरी महाकाली प्रादेशिक अस्पतालको स्तरोन्नति, भीमदत्त नगरपालिकाको ८३ किलोमिटर बाह्य चक्रपथ निर्माण, दोधारा चाँदनीलाई नमुना नगर बनाउने र चुरे फेदीमा खानेपानीको व्यवस्थासँगै खहरे खोलाको कटान नियन्त्रणलाई प्रमुख चुनावी एजेन्डा बनाएकी छन् । महाकालीमा पक्की तटबन्ध निर्माण पनि प्राथमिकतामा रहने उनले बताइन् । (विकल्प दैनिक)

ताजा समाचार

सम्बन्धित समाचार