Saturday, July 27, 2024

हरेक पटकको निर्वाचनमा पार्टी फेर्दै : सदस्य वृजेशकुमार गुप्ता

प्रकाशित:

महेन्द्रनगर । निवर्तमान प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्ताले कपिलवस्तु– २ लाई आफ्नो विरासत बोकेको निर्वाचन क्षेत्र मान्छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्ला सदरमुकाम तौलिहवा समेत पर्ने यो क्षेत्रबाट उनले लगातार ४ पटक निर्वाचन जितेका छन् । हरेक पटकको निर्वाचनमा पार्टी फेर्दै चुनाव लड्दै आएका पूर्वमन्त्री गुप्ता योपटक एमालेबाट यही क्षेत्रमा उम्मेदवार छन् ।

गुप्ता राजनीतिमा लागेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । २०५६ देखि संसद् यात्रा शुरू गरेका गुप्ताका मुख्य प्रतिस्पर्धी यसपटक पनि कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्य रहेका छन् ।

आचार्यसँगै पूर्व कृषि तथा सहकारीमन्त्री अकवाल अहमद शाह पनि चुनावी प्रतिस्पर्धामा छन् । शाह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार हुन् ।

यहाँ अहिले तीन पूर्वमन्त्रीहरू, गुप्ता, आचार्य र शाहबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेस नेता तथा गठबन्धनका उम्मेदवार आचार्य पूर्व सिञ्चाइ राज्यमन्त्री हुन ।

२०५६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजनीतिक यात्रा शुरू गरेका गुप्ताले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) हुँदै अघिल्लो निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहबाट चुनाव जितेका थिए ।

२०६४ र २०७० का दुई संविधानसभा निर्वाचन गुप्ताले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)
बाट जिते । एमालेका साथमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट २०७४ सालमा पनि गुप्ता निर्वाचित भएका थिए ।

२०७४ मा गुप्तासँग ३ हजार ५८१ मतले पराजित भएका आचार्यले यो पटक चुनाव आफूले जित्ने दाबी गर्छन् । गुप्ताले ३५ हजार १२७ मत ल्याउँदा प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५ सय ६६ मत पाएका थिए ।

उनी २०७० को दोस्रो संविधानसभाको सदस्य पदमा निर्वाचित भई तीन महिना सिञ्चाइ राज्यमन्त्री बनेका थिए । दुई कार्यकाल कांग्रेस पार्टीको जिल्ला सभापति भएका आचार्य हाल प्रदेशका महामन्त्री छन् ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी २५ दिन कृषिमन्त्री भएका थिए । समानुपातिकबाट संविधानसभा सदस्य भएका शाह, गुप्ता र आचार्यबीचको त्रिपक्षीय प्रतिस्पर्धा कपिलवस्तु– २ मा रोचक हुने देखिन्छ ।

कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले योपटक क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवारले वृजेशलाई ‘ब्रेक’ लगाउने दाबी गरे ।

‘वृजेशले ४ पटक सांसद र मन्त्री हुँदा जिल्लामा त के आफ्नो क्षेत्रमा समेत एउटा पनि काम गर्न सकेनन्,’ कलामले लोकान्तरसँग भने, ‘अहिले हामी यहाँ धेरै बलियो छौं । यो पटक वृजेशले जित्न सजिलो छैन ।’

कलामले थपे, ‘वृजेशले भोटको मात्र राजनीति गरे । विकासको सिन्को समेत भाँचेनन् ।’त्रिपक्षीय भनिए पनि यहाँ गुप्ता र आचार्यबीच नै टक्टर हुने देखिन्छ । स्थानीय तहको मत हेर्दा ९३ मतले गुप्ता अगाडि देखिन्छन् ।

यहाँ कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत ३६ हजार १४८ छ भने एमाले, जनता समाजवादी पार्टी ९जसपा०, राप्रपाको मत ३६ हजार २४१ छ ।

देशभर कांग्रेस सहितको गठबन्धन भए पनि यहाँ कांग्रेस र लोसपाबीच मित्रवत प्रतिस्पर्धा छ । पालिका निर्वाचनमा वडा अध्यक्षले पाएको दलगत मत हेर्दा कांग्रेसको ३० हजार ९९८, एमालेको २७ हजार २९८, जसपाको ६ हजार ९०८, लोसपाको ६ हजार ३८६, माओवादी केन्द्रको ४ हजार ४५९, राप्रपाको २ हजार ३५ र नेकपा एसको ६९१ मत रहेको देखिन्छ ।

२०७० सालसम्म कपिलवस्तुमा प्रतिनिधिसभातर्फ ५ निर्वाचन क्षेत्र थिए । शाह यो पटक जनताले २५ वर्षदेखि एउटै व्यक्तिले ओगट्दै आएको क्षेत्रमा परिवर्तन चाहेको बताउँछन् ।

‘पदमा बस्ने काम गर्ने नेतालाई परिवर्तन चाहेका छन्,’ शाहले लोकान्तरसँग भने, ‘मेरो लोकप्रियता र स्वच्छ र निष्पक्ष कार्यशैली जनताले रुचाएका छन् । परिवर्तन र नयाँ पुस्ताको बाटो खोल्न चाहन्छु । त्यो कुरा जनताले बुझेका छन् । जिल्लाको विकासमा मेरो योगदान धेरै छ ।’

शाहले एमाले, जसपा र राप्रपा तथा कांग्रेस, माओवादी र नेकपा एसको गठबन्धनलाई निकम्माको आरोप लगाए । लोसपाको केन्द्रीय कार्यकारी सदस्य समेत रहेका शाह २०७४ मा तत्कालीन राजपाबाट समानुपातिकमा थिए । तर, उनी सांसदमा पर्न सकेनन् ।

२०५६ मा राप्रपा र २०५१ मा एमालेबाट उम्मेदवार भए पनि पराजित भएका थिए । यता एमाले उम्मेदवार गुप्ता पाँचौंपटक जीतको प्रतिक्षामा छन् । एमाले कपिलवस्तुका अध्यक्ष डम्बर शर्माले वृजेशको जीतको यात्रा निरन्तर जारी रहने दाबी गरे ।

‘कांग्रेस र एमाले यो क्षेत्रमा शक्ति हाराहारीजस्तै छ,’ अध्यक्ष शर्माले लोकान्तरसँग भने, ‘त्यसमाथि वृजेशजीको व्यक्तिगत प्रभाव धेरै राम्रो छ । अनि जसपा र राप्रपा गर्दा हामी धेरै मतका साथ जित्छौं ।’

शर्माले थपे, ‘हिजो नै निवर्तमान प्रदेश सांसद तथा राष्ट्रिय सभा सदस्य दीर्घनारायण पाण्डे पनि एमालेमा भित्रिनुभएको छ । जिल्लाका तीनवटै क्षेत्र जित्ने अपेक्षासहित अगाडि बढेका छौं ।’

कपिलवस्तु– २ मा अहिलेसम्म वृजेशको एकछत्र पकड जस्तै देखिन्छ । एमाले नेता गुप्ता कहिले स्वतन्त्र त कहिले दल परिवर्तन गर्दै चुनाव जित्दै आएका छन् । चुनाव जितेपछि उनी जनताको सेवामा पनि खटिने शर्माको भनाइ छ ।

आफूकहाँ जायज समस्या लिएर आउने जो कोही जिल्लाबासीका समस्या, मागलाई सहजरूपमा पूरा गर्ने उनको विशेषताका कारण सबैले मन पराउने गरेको दाबी उनले गरे ।

जनताको चाहना बुझ्न सक्ने खुबी आफूसँग रहेको गुप्ताको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको जागिर छाडेर एकाएक राजनीतिमा होमिएका गुप्ताले असफलता भोग्नुपरेको छैन ।

उनले विद्यार्थी राजनीति कहिल्यै गरेनन्, सिधै संसदीय निर्वाचनमा होमिए । तर, उनको परिवारले राजनीति संस्कार बुझेको थियो । उनका बुवा भगवानदास गुप्ता समाजसेवासँगै राजनीतिमा पनि जोडिएका थिए ।

कपिलवस्तुमा अहिले ३ वटा निर्वाचन क्षेत्र रहेका छन् । कपिलवस्तु २ मा ३४ वटा वडाहरू पर्छन् । कपिलवस्तु नगरपालिकाका ८, यशोधरा गाउँपालिकाका ७, महाराजगञ्ज नगरपालिकाका ८ र बुद्धभूमि नगरपालिका १० वटा यस क्षेत्रमा समेटिएका छन् । (दैनिक अनलाईन)

 

 

ताजा समाचार

सम्बन्धित समाचार