पुनर्वासमा मोटरसाइकलको ठक्करबाट ७०वर्षीया वृद्धाको मृत्यु, दुर्घटनापछि मोटरसाइकल चालक फरार, प्रहरीद्वारा अनुसन्धान तीव्र

प्रकाशित:

 

पुनर्वास २९ असोज २०८३ कञ्चनपुरको दक्षिणी भेगमा पर्ने पुनर्वास नगरपालिका–१, बलभद्र बस्तीमा मोटरसाइकलको ठक्करबाट अन्दाजी ७० वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ।

धनगढी–बेलौरी हुलाकी सडकखण्डमा दिउँसो करिब १ बजे सडकछेउबाट पैदल हिँडिरहेकी स्थानीय श्रीमाया तामाङलाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको हो।

मोटरसाइकलको ठक्करबाट शरीरका भित्री भागमा गम्भीर चोट लागेकी तामाङलाई स्थानीयवासीले उद्धार गरी नजिकैको आईबीआरडी बजारस्थित बी.एन. पोलिक्लिनिक पुर्‍याएका थिए। तर, उपचारका लागि पुर्‍याइएकी उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए

दुर्घटना गराएर मोटरसाइकल चालक फरार भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। प्राप्त जानकारीअनुसार, ठक्कर दिएर फरार भएको मोटरसाइकल टीभीएस कम्पनीको अपाचे रहेको आशङ्का गरिएको छ।

घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरीले एक थान शङ्कास्पद मोटरसाइकलसहित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ। यद्यपि, दुर्घटनामा संलग्न वास्तविक चालक र ठक्कर दिने मोटरसाइकलको आधिकारिक पहिचान खुल्न बाँकी छ।

ताजा समाचार

सम्बन्धित समाचार