
कञ्चनपुर — सुदूरपश्चिमको मौलिक सांस्कृतिक पर्व गौरा पर्वका अवसरमा कञ्चनपुरको पुनर्वास नगरपालिकाले बिहीबार एक दिन स्थानीय सार्वजनिक बिदा दिएको छ।

नगर कार्यपालिकाले गौरा पर्वलाई मध्यनजर गर्दै बिहीबार स्थानीय बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले जानकारी दिए। बिदाका दिन नगरपालिकाअन्तर्गतका अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द रहने उनले बताए।

नगर उपप्रमुख भुलिया कुमारी राना र प्रमुख प्रशासकीय अधिकृत ऐरीको संयुक्त हस्ताक्षरमा जारी शुभकामना तथा स्थानीय बिदासम्बन्धी सूचनामा सुदूरपश्चिम क्षेत्रको विशिष्ट सांस्कृतिक महत्व बोकेको गौरा पर्वले सामाजिक एकता, धार्मिक सहिष्णुता र भ्रातृत्वलाई थप मजबुत बनाउने उल्लेख गरिएको छ।

‘गौरा पर्व २०८३’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नगरवासीलाई सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना दिँदै नगरपालिकाले बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक समाजमा मनाइने सबै जाति, वर्ग, क्षेत्र, धर्म तथा समुदायका चाडपर्वलाई समान प्राथमिकता दिँदै आएको जनाएको छ।
नगरपालिकाले गौरा पर्वका अवसरमा सामाजिक सद्भाव कायम राख्दै पर्वलाई आर्थिक रूपमा मितव्ययी ढङ्गले मनाउनसमेत नगरवासीलाई आग्रह गरेको छ।
सूचनाअनुसार २०८३ साल भदौ १८ गते बिहीबार नगरपालिकाको कार्यालय, अन्तर्गतका सबै वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा एक दिन स्थानीय बिदा हुनेछ।
बिरुडा भिजाएर सुरु भएको पर्व
यस वर्षको गौरा पर्व मंगलबार पञ्चमीका दिन बिरुडा भिजाएर विधिवत् रूपमा सुरु भएको हो। पर्वको दोस्रो दिन बुधबार व्रतालु महिलाहरूले नजिकैका धारा, कुवा तथा जलाशयमा पुगेर बिरुडा धुने परम्परा पूरा गरेका छन्।
पर्वको तेस्रो दिन अर्थात् बिहीबार व्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याएर विशेष पूजाआजा गर्ने परम्परा छ। गौरा पर्वका अवसरमा सुदूरपश्चिमका विभिन्न बस्तीमा विशेष रौनक छाएको छ।
प्राचीनकालदेखि पर्वतराज हिमालय र मेनकाकी पुत्री तथा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरूपा पार्वती (गौरी)लाई गौरा देवीका रूपमा श्रद्धापूर्वक पूजाअर्चना गर्ने परम्परा रहिआएको छ।
गौरा पर्वमा महिलाहरूले व्रत बसेर पूजापाठ गर्ने गर्छन् भने पुरुषहरूले देउडा, धुमारी र डुस्कोजस्ता परम्परागत लोकखेल तथा सांस्कृतिक गतिविधिमा सहभागी भएर पर्व मनाउने गर्छन्। सुदूरपश्चिमको मौलिक पहिचान र सांस्कृतिक परम्परासँग जोडिएको गौरा पर्वले समुदायबीचको आपसी सद्भाव, एकता र भाइचारालाई थप बलियो बनाउने विश्वास गरिन्छ।


