
किशोर तामाङ
कञ्चनपुर — उपलब्ध स्रोत–साधनको सिर्जनात्मक प्रयोग गर्दै रुग्ण अवस्थामा रहेको ८ एमभीए क्षमताको ३३/११ केभी पुनर्वास सबस्टेसन छोटो समयमै पुनः सञ्चालनमा ल्याउनुका साथै विद्युत् सेवा सुधार, न्यून भोल्टेज समस्या समाधान र निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको बेलौरी वितरण केन्द्र सम्मानित भएको छ।

नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कन गर्दै कञ्चनपुरको दक्षिणी भेगमा रहेको बेलौरी वितरण केन्द्रका सम्पूर्ण कर्मचारीलाई कदरपत्रसहित सम्मान गरिएको हो।

पुराना तथा प्रयोगविहीन सामग्रीको सदुपयोग गरी लामो समयदेखि रुग्ण अवस्थामा रहेको पुनर्वास सबस्टेसनलाई छोटो समयमै सञ्चालनमा ल्याउनु, न्यून भोल्टेजको समस्या समाधान गर्नु तथा राजस्व संकलनमा १०३.४४ प्रतिशत उपलब्धि हासिल गर्नु केन्द्रको उल्लेखनीय कार्यका रूपमा लिइएको छ।

सम्मान कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत् क्षेत्रको सेवा सुधारका लागि उपलब्ध पूर्वाधार, स्रोत–साधन र जनशक्तिको अधिकतम उपयोग आवश्यक रहेको धारणा राखेका थिए। सीमित स्रोतबाट पनि परिणाममुखी काम गर्न सकिने उदाहरणका रूपमा बेलौरी वितरण केन्द्रको कार्यसम्पादनलाई लिन सकिने उनको भनाइको आशय थियो। उनले विद्युत् सेवा नागरिकको दैनिक जीवन र आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएकाले सेवा प्रवाहलाई थप भरपर्दो, गुणस्तरीय र उत्तरदायी बनाउन कर्मचारीको सक्रियता महत्वपूर्ण हुनेमा जोड दिएका थिए।
त्यस्तै, मन्त्रालयकी सचिव दवाडीले विद्युत् वितरण प्रणालीलाई प्रभावकारी बनाउन प्राविधिक सुधारसँगै कार्यालय तहमा उपलब्ध स्रोत–साधनको उचित व्यवस्थापन आवश्यक रहेको बताएकी थिइन्। पुराना सामग्रीलाई पुनः उपयोगमा ल्याएर सबस्टेसन सञ्चालन गर्नु खर्च र समय व्यवस्थापनका दृष्टिले सकारात्मक कार्य भएको उल्लेख गर्दै उनले यस्ता सिर्जनात्मक प्रयासलाई संस्थागत गर्दै लैजानुपर्ने धारणा राखेकी थिइन्।

नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विद्युत् सेवा सुधारको मुख्य आधार कर्मचारीको कार्यक्षमता, प्राविधिक दक्षता र जिम्मेवारीबोध भएको बताएका थिए। स्थानीय तहमा कार्यरत कर्मचारीले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै उपभोक्तालाई गुणस्तरीय सेवा दिन गरेको प्रयासलाई प्राधिकरणले उच्च मूल्याङ्कन गर्ने उनको भनाइको आशय थियो।
बेलौरी वितरण केन्द्रका प्रमुख हिक्मत क्षेत्रीको नेतृत्वमा पुनर्वास, बेलौरी, लालझाडी र बेलडाँडी क्षेत्रमा विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधार, विद्युत् लाइन विस्तार, न्यून भोल्टेजको समस्या समाधान तथा राजस्व संकलनलगायतका काम प्रभावकारी रूपमा सम्पन्न भएका छन्।
केन्द्रले उपलब्ध पुराना सामग्रीको प्रयोग गरी ८ एमभीए क्षमताको ३३/११ केभी पुनर्वास सबस्टेसन पुनः सञ्चालनमा ल्याएको हो। सबस्टेसन सञ्चालनमा आएपछि पुनर्वास तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति व्यवस्थापनमा सहजता आएको केन्द्रले जनाएको छ।
यसैगरी, विद्युत् वितरण प्रणालीमा देखिएको न्यून भोल्टेजको समस्या समाधान गर्न विभिन्न प्राविधिक सुधारका काम अघि बढाइएको छ। क्षेत्रको बढ्दो विद्युत् माग र उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै वितरण प्रणाली विस्तार तथा सुदृढीकरणमा समेत केन्द्रले काम गरेको जनाएको छ।
प्राधिकरणका कर्मचारी हिरा चन्दका अनुसार क्षेत्री बेलौरी वितरण केन्द्रको प्रमुखका रूपमा आएपछि विद्युत् सेवा सुधारका क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। क्षेत्रीको नेतृत्वमा थप दुईवटा ११ केभी फिडर निर्माणलगायतका महत्वपूर्ण कामसमेत सम्पन्न भएको उनले बताए।
चन्दका अनुसार सीमित स्रोत–साधनका बीच उपलब्ध सामग्रीको पुनः प्रयोग, कर्मचारीबीचको समन्वय र प्राविधिक जनशक्तिको प्रभावकारी परिचालनले केन्द्रलाई लक्ष्यअनुसार काम गर्न सहज भएको हो।
सम्मानपछि बेलौरी वितरण केन्द्रका प्रमुख क्षेत्रीले प्राप्त सम्मान आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण कर्मचारीको सामूहिक मेहनतको परिणाम भएको बताए।
“नेतृत्व मैले गरे पनि यो सफलता सम्पूर्ण कर्मचारीको दिनरातको अथक प्रयास, उपभोक्ताको सहकार्य र सहयोगको परिणाम हो,” क्षेत्रीले भने।
उनले विद्युत् सेवा सुधारमा निरन्तर लगनशीलता, आत्मबल र सामूहिक प्रयास भए चुनौतीपूर्ण कामसमेत सम्भव हुने बताए। केन्द्रका कर्मचारीले कठिन परिस्थितिमा समेत निरन्तर खटिएर विद्युत् सेवा सुधारमा योगदान दिएको उल्लेख गर्दै उनले सहयोग गर्ने उपभोक्ताप्रति समेत आभार व्यक्त गरे।
विद्युत् सेवा सुधारको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै क्षेत्रीले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् सेवा उपलब्ध गराउन केन्द्रले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्ने बताए। बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न वितरण प्रणालीको सुदृढीकरण, प्राविधिक सुधार, लाइन विस्तार तथा राजस्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ थियो। उनले आगामी दिनमा पनि कर्मचारीको सामूहिक प्रयास, प्राविधिक दक्षता र उपभोक्ताको सहयोगबाट केन्द्रको सेवा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।


