कञ्चनपुर, असार २९। कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित पुनर्वास नगरपालिका–४ मा रहेको श्री बाल रुपान्तर बोर्डिङ स्कुलले २१३औँ भानु जयन्ती विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ।

विद्यालयका संस्थापक बालकृष्ण ढकालको सभापतित्व तथा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व, कृतित्व तथा नेपाली भाषा–साहित्यमा उहाँले पुर्याउनुभएको योगदानको स्मरण गरिएको थियो।

पुनर्वास नगरपालिका–४ को कोटीहोमस्थित शिव मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा वडा नं. ४ का अध्यक्ष मनोज जैसी, वडा नं. ३ का अध्यक्ष कृष्ण तामाङ, वडा सदस्य रेवती रमण घिमिरे, पूर्व स्रोत व्यक्ति विष्णुभक्त पौडेल, समाजसेवी यमप्रसाद पौडेल, स्थिरप्रसाद घिमिरे, भोलानाथ घिमिरे, खगराज बराल, कृष्णभक्त पौडेल, दिल्लीराज खड्का, राजाराम आचार्य, हरिभक्त पौडेल तथा दिनानाथ अधिकारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले आदिकवि भानुभक्त आचार्यको जीवन, साहित्यिक योगदान र नेपाली भाषाको विकासमा उहाँले खेलेको ऐतिहासिक भूमिकालाई समेटेर कविता, नाटक, जीवनी वाचन तथा अन्य साहित्यिक प्रस्तुति दिएका थिए। विशेषगरी ‘घाँसी’ कविताबाट प्रेरित भएर अमर साहित्य सिर्जना गरेका भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम नेपालीलाई एउटै भाषिक सूत्रमा आबद्ध गराउन पुर्याएको योगदानको चर्चा गरिएको थियो।
प्रमुख अतिथि नगरप्रमुख तोय प्रसाद शर्माले भानुभक्त आचार्य नेपाली भाषा–साहित्यका आदिकवि मात्र नभई राष्ट्रिय एकताको प्रतीकसमेत रहेको उल्लेख गर्दै उहाँको योगदान सधैं प्रेरणादायी रहने बताउनुभयो। उहाँले भानु जयन्तीको शुभकामना व्यक्त गर्दै नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिप्रति सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभयो झनै।
कार्यक्रमका सभापति तथा विद्यालयका संस्थापक बालकृष्ण ढकालले यस्ता साहित्यिक तथा सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूमा भाषा, साहित्य र संस्कृतिप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै राष्ट्रिय पहिचानप्रति सम्मानको भावना विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालयले प्रत्येक वर्ष भानु जयन्तीलगायत राष्ट्रिय तथा साहित्यिक महत्त्वका दिवसहरू सिर्जनात्मक कार्यक्रममार्फत मनाउँदै आएको जनाएको छ।


