पुनर्वासमा मोटरसाइकलको ठक्करबाट रत्न तामाङ घाइते, चालक फरार, प्रहरी द्धारा खोजी कार्य जारी

प्रकाशित:

पुनर्वास, कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका–२, अरनिको बस्ती निवासी रत्न तामाङ मोटरसाइकलको ठक्करबाट घाइते भएका छन्। धनगढी–बेलौरी हुलाकी सडकखण्डअन्तर्गत कान्छीबजार क्षेत्रमा भएको दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको बताइएको छ।

प्राप्त जानकारीअनुसार, सुदूरपश्चिम प्रदेश ०१–०११ प ५५३६ नम्बरको मोटरसाइकलले तामाङलाई ठक्कर दिएको थियो। दुर्घटनापछि चालक घटनास्थलबाट फरार भएका छन्।

घाइते तामाङको उपचार नजिकै रहेको आईबीआरडी बजारस्थित पुनर्वास क्लिनिकमा भइरहेको पारिवारिक स्रोतले जनाएको छ। घटनापछि घाइतेका आफन्तले मोटरसाइकल चालकविरुद्ध इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीअन्तर्गत रहेको अस्थायी प्रहरी पोस्ट आईबीआरडीमा किटानी जाहेरी दर्ता गरेका छन्।

ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती का ईन्चार्ज का अनुसार जाहेरी प्राप्त भइसकेको छ र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै मोटरसाइकल धनी तथा चालकको विवरण प्राप्त गर्न यातायात व्यवस्था कार्यालय कैलालीसँग समन्वयका लागि पत्राचार गरिसकिएको छ।

प्रहरीले फरार चालकको खोजी कार्य तीव्र बनाइएको जनाएको छ। साथै उक्त मोटरसाइकल चालकको पहिचान, ठेगाना वा अवस्थाबारे जानकारी भएका व्यक्तिलाई नजिकको प्रहरी कार्यालयमा सूचना दिन वा ९७०१६५०८८८ नम्बरमा सम्पर्क गरी सहयोग गर्न अनुरोध गरिएको छ।

दुर्घटनापछि चालक फरार भएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार