बैतडी दुर्घटना : घाइते गर्भवती महिलासहित ३ धनगढी रेफर, अर्का डिस्चार्ज

प्रकाशित:

कञ्चनपुर। बैतडीमा अटो दुर्घटनामा परी घाइते भएका चार जनामध्ये तीन जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । एकजना जिल्ला अस्पताल बैतडीमा उपचारपछि घर फर्किसकेका छन् ।

शुक्रबार दिउँसो साढे १२ बजेतिर महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुपप्र ०१००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको अटो सडकबाट एकसय मिटर तल खस्दा घाइते भएका मध्ये दोगडाकेदर गाउँपालिका–२ की २५ वर्षीया पार्वती जोशी, सोही ठाउँकी ४५ बर्षीया वसन्ती जोशी र २५ बर्षीय राजेन्द्र भाटलाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका  प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको हो ।

अटो दुर्घटनामा घाइते भएका पुर्चौंडी नगरपालिका–९ का २० बर्षीय हिरा सार्की जिल्ला अस्पताल बैतडीमा उपचार गराएर घर फर्किसकेका प्रहरी निरीक्षक ढुंगानाले बताए ।

घाइतेमध्ये पार्वती जोशी गर्भवती रहेको खुलेको छ । उनी स्वास्थ्य चेकजाँचका लागि श्रीकोट स्वास्थ्यचौकीमा जाने क्रममा दुर्घटनामा परेकी हुन् ।

अटो चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का २२ बर्षीय उमेश साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार