दाजुले चक्कु हानेर भाइको हत्या गरे, कारण यस्तो!

प्रकाशित:

दाङ। घरायसी जग्गा विवादका कारण दाजुले चक्कु प्रहार गरी भाइको हत्या गरेको खुलासा भएको छ।

मङ्गलबार बिहान भक्तपुरको चाँगुनारायण नगरपालिका ६ घर भइ हाल दाङको बबई गाउँपालिका ४ बस्ने सोमार तामाङका २० वर्षीय छोरा अनिल तामाङलाई उनका दाजु ३२ वर्षीय पूर्ण तामाङले चक्कु प्रहार गरी हत्या गरेको खुलासा भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डीएसपी अनिल ठकुरीले बताए।

अनिल असोज २३ गते बुबाआमा बस्दै आएको ठाउँ दाङको बबई गाउँपालिका ४ हापुरे आएका थिए। घरायसी जग्गा विवादका कारण दाजु पूर्णले अनिललाई मङ्गलबार बिहान करिब सवा १० बजेतिर चक्कु प्रहार गरेका थिए।

मदिरा सेवन गरेका भाइ अनिलले नै आफै पेटमा चक्कु प्रहार गरेको प्रहरीलाई खबर गरेका थिए। घाइते अवस्थामा रहेको अनिललाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याएको थियो। उनको उपचारको क्रममा बिहान करिब ११ बजेतिर मृत्यु भएको डीएसपी ठकुरीले बताए।

उनका अनुसार सो घटना शङ्कास्पद लागेपछि इप्रका तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा विशेष प्रहरी टोली गइ घटना भएको ठाउँदेखि केही पर लुकीछिपी बसेको पूर्णलाई नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक सोधपुछ र अनुसन्धान गर्दै जाँदा पूर्णले नै घरायसी जग्गा विवादका कारण भाइलाई चक्कु प्रहार गरी हत्या गरेको खुल्न आएको उनको भनाइ छ।

यस्तै प्रहरीले बुवा सोमारलाई पनि नियन्त्रणमा लिएको छ। जग्गाको विषयलाई लिएर बुबासँग पटक पटक झगडा गर्ने गरेको र सोही विषयमा आफूसँग पनि विवाद गरेपछि चक्कु प्रहार गरेको अभियुक्तले प्रहरीलाई बयान दिएका छन्।

‘मदिरा सेवन गरेर भाइले आफ्नै पेटमा चक्कु हानेर घाइते भएको छ, भन्ने खबर प्रहरीलाई गयो। तत्काल पुगेको प्रहरीले उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठायो। यहाँ आएपछि म अस्पतालमा पुगे। घटना हेर्ने बित्तिकै शङ्का लाग्यो। बाबुछोरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घटनाको वास्तविकता खुल्यो,‘ उनले भने।

यस्तै घटनास्थलमा प्रयोग भएको चक्कु तथा भौतिक सबुद समेत बरामद गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। सोमारले हापुरे बजारमा डोल्मा होटल सञ्चालन गरेर बस्दै आएको छन्।

ताजा समाचार

सम्बन्धित समाचार