काठमाडौँ। आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ७:४५ बजे खेल सुरू हुनेछ।

क्यानडामा नेपालले आज लिग-२ को दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल मंगलबार बिहान घरेलु टोलीसँग १०३ रनको फराकिलो रनले पराजित भएको थियो।

विश्वकप लिग-२ मा नेपालले कुल पाँच खेल खेलिसकेको छ। त्यसमध्ये नेपालले एउटा मात्रै जित निकालेको छ। गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो।

नेपाल ओमानको चिर परिचित प्रतिद्वन्द्वी हो। ओमानसँग पछिल्लो पाँच भेटमा नेपालले तीन खेल जित्दा २ खेल गुमाएको छ।
गत वर्षको अप्रिलमा भएको एसिसी मेन्स प्रिमियर कपमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको थियो। त्यतिबेला त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले ओमानविरूद्ध ३१० रन बनाएको थियो।
‘अवे’ सिरिजमा कमजोर देखिरहेको नेपालका लागि ओमानलाई पराजित गर्दै खेलमा फर्किने अवसर छ। नेपालले सिरिजको तेस्रो खेल असोज ६ गते पुनः क्यानडासँग र असोज ८ गते पुनः ओमानसँग खेल्नेछ।
एकदिसवीय सिरिजपछि असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछ। त्रिकोणात्मक टी-२० सिरिज खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ। त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ।
अमेरिका भ्रमणमा पनि नेपालले लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ।
लिग-२ को सिरिज अमेरिकाको टेक्सासस्थित ह्युस्टनको प्रिएरी भ्यूमा हुने तय भएको छ। सबै खेल अमेरिकाको स्थानीय समयअनुसार विहान १०:३० र नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ।
तालिकाअनुसार लिग:२ नेपालले २७ अक्टोबरमा (कात्तिक ११) अमेरिकासँग, २९ अक्टोबरमा (कात्तिक १३) स्कटल्यान्डसँग, २ नोभेम्बरमा (कात्तिक १७) फेरि अमेरिकासँग र अन्तिम खेलमा ४ नोभेम्बरमा (कात्तिक १९) स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ।
लिग-२ को एकदिवसीय सिरिज पछि तीनै टोलीबीच टी-२० सिरिज हुनेछ।