शिवपार्वती संवादे: लोग्नेस्वास्नीले सिक्ने कुरा

प्रकाशित:

डा. गोविन्दशरण उपाध्याय : “शिव-पार्वती संवादे”बाट : शिव महापुराणका प्रत्येक अध्यायको अन्त्य हुन्छ | शिव महापुराण होस् वा तन्त्रसाहित्य वा तुलसीदासले भोजपुरी भाषामा लेखेको “रामचरित मानस”मा पनि शिव र पार्वतीको सम्बादहरू राइछाई छन् | धेरैजसो पार्वतीका प्रश्नहरूको शिवले उत्तर दिएका छन् भने केही तन्त्रग्रन्थहरूमा शिवका प्रश्नहरूको महाकालीले उत्तर दिएकी छन् |

स्वस्थानीको ब्रत लिंदै गर्दा, स्वस्थानीको कथा सुन्दै गर्दा दुई जना पतिपत्नी अर्थात् शिवपार्वतीको सधैं प्रश्न गर्ने र उत्तर दिने प्राणाली, पार्वतीको प्रश्न सोध्ने शैली र शिवको उत्तर दिने शैली, एउटाले अर्कोलाई सम्बोधन गर्दा प्रयोग गरेका शब्दहरू, उत्तर मन नपर्दा पुन: प्रश्न गर्ने पार्वतीको शैली र शिवले पार्वतीको चित्त बुझाउने शैली सिक्नुपर्छ, बुझ्नु पर्छ र जीवनमा उतार्नुपर्छ | पतिपत्नीको सम्बन्ध जोड्नु सजिलो छ तर असल पतिपत्नी बनेर सुखी रहनका लागि एकआपसमा संवादको सघनता हुनुपर्छ |

चेतना गुमाएकी आफ्नी पत्नी रुक्मिणीलाई कृष्णले पानी छ्म्केर होस्मा ल्याए | अनि भने “प्रिये, गृहस्थमा पतिपत्नी हुनुको सबैभन्दा ठूलो र महत्वपूर्ण लाभ नै एकआपसमा मन खोलेर रमाइलो गर्न पाइन्छ | दु:सुख साटासाट गर्न पाइन्छ | तेसैले हरेक लोग्नेस्वास्नीले एकआपसमा रमाइलो गर्न एकान्तमा समय खर्चनु पर्छ | समय र परिवेश विचार गरेर पत्नीले पतिको र पतिले पत्नीका कुराहरूको मुल्यांकन गर्नुपर्छ | यो प्रसंग भागवत महापुराणको १०/६० औं अध्यायमा लेखिएको छ | यो प्रसंगले पतिपत्नीले एकआपसका कुराहरूलाई सहज र सरलरूपमा बुझ्नुपर्छ, मूल्यांकन गर्नुपर्छ भन्ने स्थापित गर्छ |

उपरोक्त दूवै प्रसंगमा कृष्ण र शिवले आफ्ना पत्नीहरूप्रति अनन्य प्रेम प्रकट गरेका छन् भने पत्नीहरू उमा र रुक्मिणीले पनि आफ्नो विश्वासमा कुनै कमी गरेका छैनन् | यी दूवै प्रसंगमा एउटा तत्थ्य एकदम महत्वपूर्ण छ – पतिपत्नीमा एकआपसी सम्बाद, विश्वास र प्रेम निश्छल छ | वैदिक संस्कृतमा हुर्केका पतिपत्नीले जतिसुकै मन दु:खे पनि “जोडिने” प्रयत्न गर्छन् भने पश्चिमा संस्कृतिमा हुर्केका र तेसै संस्कृतिलाई आफ्नो मान्ने पतिपत्नीले “छुट्टिनु”लाई एकआपसी जीत मान्छन्, सेटेलमेन्टलाई महत्वपूर्ण ठान्छन् | उनीहरूका लागि त्यो ठीक होला तर हाम्रा लोग्नेस्वास्नीका लागि त्यो एउटा अर्धसत्य समाधान हो |

शिव तथा पार्वतीका संवाद केवल दन्त्यकथाजस्ता कथामात्र छैनन् | तिनको सम्बादमा कामसूत्रजस्तो विवाहित पतिपत्नीका यौनउत्सुकता, यौनसंचारसहित विवाह, दाम्पत्य, दाम्पत्यका समस्या तथा तिनको निराकरण गर्दै पुनस्थापित गर्ने विधिहरूको सिलसिलेवार परामर्शहरू छन् | वाद, विवाद र संवाद विधिमा आधारित कामसूत्रले पतिपत्नीका समस्यामा होइन पारिवारिक दायित्वलाई सरल तथा सहजतवरले सम्पादन गर्दै दाम्पत्य जीवनलाई चीरस्थायी बनाउने उपाय स्थापित गरिएको छ | हो, आजको समय र परिवेशमा कतिपय उपायहरूको उपयोगिता परिवर्तित भएका होलान् तर दाम्पत्य, दम्पतिका एकआपसी चाहनाहरू, भावनाहरू, समस्याहरू तथा ती समस्याहरूको समाधान हुनुपर्छ भन्ने मान्यता र आवश्यकतामा कुनै फरक परेको छैन |

सुखमय र खुशी दाम्पत्यका लागि एकान्तमा बसेर पतिपत्नी दुवैले वाद, विवाद र सम्बाद गर्ने अभ्यास गर्नुपर्छ | पति वा पत्नी मध्ये जोसुकैले अगाडी बढेर वा झुकेर अग्रसरता लिए हुन्छ | यदि पतिसंग पत्नी र पत्नीसंग पतिलाई डर लाग्छ भने यस्तो दाम्पत्य दाम्पत्य कम र दासता बढी हो | तेसैले पतिपत्नीको एकआपसमा “शिवपार्वती सम्वादे” हुनैपर्छ | यस्तो सम्बाद धैर्य, प्रेम र समस्या समाधानका लागि हुनुपर्छ | पतिपत्नीका एकआपसी विवादहरू स्वस्थान अर्थात् आ-आफ्नो ठाउँमा लचिलो, आँटिलो, धैर्यवान्, प्रेमी भएरमात्र समाधान हुन्छन् | समस्या नभए गृहस्थ जीवनलाई सुखी र खुसी बनाउने नयाँनयाँ मायालु बाटाहरू खुल्दै जान्छन् | लोग्नेस्वास्नी असल मित्रमात्र होइन सबैभन्दा असल सहयोगी पनि हुन् | संगै भोजन गरेर, संगै हिंडेर, एकआपसमा संवाद गरेर, एकअर्कालाई तेस्रो पक्षको आक्रमणबाट सुरक्षित गर्दै अगाडी बढौं | घर नै स्वर्ग हुन्छ |

ताजा समाचार

सम्बन्धित समाचार