काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई म्याद थपको प्रक्रियाका लागि भर्चुअल उपस्थिति गराइने भएको छ ।

जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनका आधारमा पक्राउ परेका उनलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा पेश गर्नुपर्ने थियो । तर, स्वास्थ्य स्थितिका कारण सम्भव नभएपछि भिडिओ कन्फ्रेन्सबाट सहभागी गर्न लागिएको ओली तर्फका कानून व्यवसायी वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले नेपाल प्रेसलाई बताए ।

२ पटक मिर्गौला प्रत्यारोपण गरिएका ओली स्वास्थ्य परीक्षणपश्चात चिकित्सको सल्लाहमा टिचिङ अस्पताल भर्ना भएका छन् । ‘हाम्रो टीम सरकारी वकिलकै कार्यालयमा छ, उहाँको उपस्थितिबाहेकका अरु काम हुँदैछ’, उनले भने ।
म्याद थप भएपछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिने भएको छ । म्याद थप नभई कोही व्यक्ति बन्दी रहेरनरहेको जानकारी अदालतलाई नहुने कारण म्याद थपपछि उक्त रिट दायर गरिने भएको हो ।



