महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापन अब नयाँ नेतृत्वमा जाने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा महेश प्रसाद पन्तलाई जिम्मेवारी दिएको छ।

भीमदत्त नगरपालिका–१८ का बासिन्दा पन्तलाई प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयमार्फत नियुक्त गरिएको हो। सम्बन्धित कानुनी व्यवस्था अनुसार गरिएको यस नियुक्तिले अस्पतालको प्रशासनिक तथा व्यवस्थापन पक्षलाई सक्रिय बनाउने अपेक्षा गरिएको छ।

पन्त राजनीतिसँगै सामाजिक गतिविधिमा पनि सक्रिय रूपमा संलग्न छन्। उनी महेन्द्रनगर बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति हुन्। साथै, नेकपा एमालेसँग आवद्ध पन्त २०७९ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको प्रमुख पदका प्रत्याशीसमेत थिए।

यससँगै, अस्पताल व्यवस्थापन समितिमा प्रशान्त भट्ट, इन्द्र साउद र पार्वती कुमारी भट्टलाई सदस्यका रूपमा समावेश गरिएको छ।
अघिल्लो कार्यसमिति समाप्त भएपछि लामो समयसम्म नेतृत्वविहीन बनेको अस्पताल व्यवस्थापन अब नयाँ टोलीसँगै अघि बढ्ने विश्वास लिइएको छ।


