महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–११ स्थित होल्डिङ सेन्टर ७ नम्बर नजिकबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१० जिमुवा बस्ने २८ वर्षीय दिपेन्द्र जोशी रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उनको साथबाट करिब १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

उक्त पदार्थ बरामद गरेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी जोशीलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



