
कञ्चनपुर — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी दौडाहाअन्तर्गत कञ्चनपुर पुगेका छन्। देशव्यापी चुनावी अभियानमा रहनुभएका घिसिङलाई धनगढी विमानस्थलमा उनका समर्थक तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए।


निर्धारित कार्यक्रमअनुसार उनले कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पुनर्वास नगरपालिका तथा निर्वाचन क्षेत्र नं. ३ मा मतदातासँग भेटघाट र चुनावी आमसभामा सहभागिता जनाउनेछन्।


कञ्चनपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै घिसिङले आफ्नो विगतको कार्यसम्पादन जनतासामु स्पष्ट रहेको बताए। उनले नेपाल विद्युत प्राधिकरणमा कार्यरत रहँदा घाटामा रहेको संस्थालाई नाफामा पुर्याएको तथा देशव्यापी लोडसेडिङको पूर्ण अन्त्य गर्न सफल भएको उल्लेख गरे।


उनले उज्यालो नेपाल पार्टी सधैं देश र जनताको हितमा प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा कृषकका लागि निःशुल्क कृषि सिँचाइको व्यवस्था गर्ने घोषणा गरे।

सार्वजनिक कार्यतालिकाअनुसार ‘उज्यालो संकल्प’ र्याली तथा आमसभाअन्तर्गत कञ्चनपुर, कैलाली, बर्दिया र कोहलपुर/नेपालगञ्जमा कार्यक्रम आयोजना गरिनेछ। त्यसैगरी फागुन १० गते भैरहवा, रुपन्देही र नवलपरासीमा सभा तय गरिएको छ।

त्यसपछि विराटनगर, धरान, इटहरी, फिदिम लगायत पूर्वी जिल्लाहरूमा आमसभा गर्ने कार्यक्रम रहेको छ। फागुन १३ र १४ गते काभ्रे, मन्थली, मकवानपुर, रौतहट, सर्लाही, नुवाकोट र रसुवा हुँदै १६ फागुनमा काठमाडौँमा आमसभा गरी चुनावी दौडाहा समापन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

उज्यालो संकल्पसहित सुरु गरिएको यो देशव्यापी अभियानलाई पार्टीले जनताको उत्साहजनक साथ मिलिरहेको दाबी गरेको छ। चुनावी माहोल तातिँदै जाँदा घिसिङको अभियानले कस्तो प्रभाव पार्छ, त्यो भने आगामी दिनमा स्पष्ट हुने देखिन्छ।


