पुनर्वास ३ फागुन २०८२ , कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पुनर्वास नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेस को निर्वाचन प्रचार–प्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ। कञ्चनपुर निर्वाचन क्षेत्र नं १ नेपाली कांग्रेस का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोपी प्रसाद उपाध्याय लाई विजयी गराउने उद्देश्यले पुनर्वास–२ को मोती बस्तीमा एक औपचारिक कार्यक्रमका बीच चुनावी प्रचार प्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको हो।

नेपाली कांग्रेस पुनर्वास नगरपालिका वडा नं २ कि सभापति राजकुमारी तामाङ को सभापतित्वमा आयोजित वडा कार्यालय उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा सविधान सभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं विधायन समिति सभापति माननिय दिवान सिंह बिष्ट रहनु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिष्टले आगामी निर्वाचनमा कांग्रेसको चुनाव चिन्ह ‘रूख’मा मतदान गर्न सम्पूर्ण मतदातासमक्ष आग्रह गर्नुभयो। उहाँले लोकतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन, सुशासनको प्रवर्द्धन तथा समावेशी विकासका लागि कांग्रेसलाई अत्यधिक बहुमतका साथ विजयी गराउन आवश्यक रहेको बताउनुभयो। “देशलाई स्थायित्व, आर्थिक समृद्धि र दिगो विकासको मार्गमा अघि बढाउन कांग्रेसको नेतृत्व अपरिहार्य छ,” उहाँले भन्नुभयो।

त्यसैगरी उम्मेदवार उपाध्यायले मतदाताले विश्वासका साथ निर्वाचित गराएमा कञ्चनपुर क्षेत्र नम्बर १ को समग्र विकासमा अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कांग्रेसको चुनावी घोषणापत्रअनुसार स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने, सामुदायिक विद्यालयको स्तरोन्नति गर्दै प्राविधिक शिक्षाको विस्तार गर्ने, युवाका लागि रोजगारी र स्वरोजगारका कार्यक्रम ल्याउने तथा कृषि, साना उद्यम र पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सबल बनाउने योजना रहेको उहाँले बताउनुभयो। उहाँले भौतिक पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, सुरक्षित खानेपानी, सिँचाइ विस्तार तथा यातायात सेवा सुधारलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो। “सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई केन्द्रमा राख्दै विकास निर्माणका कार्य अगाडि बढाइनेछ,” उहाँले जोड दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै पुनर्वास नगरपालिका वडा नं २ का सभापति राजकुमारी तामाङले वडा तहबाटै पार्टी संगठन सुदृढ गर्दै उम्मेदवारको विजय सुनिश्चित गर्न सबै नेता–कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा तथा क्षेत्रको समग्र विकासका लागि नेपाली कांग्रेसको विकल्प नभएको उल्लेख गर्नुभयो।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कांग्रेसले कञ्चनपुर–१ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै विभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना, घरदैलो अभियान र मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।



