
किशोर तामाङ
महेन्द्रनगर,१ फागुन ०८२, कञ्चनपुरको महेन्द्रनगरमा जारी पाँचौँ पालिका स्तरीय भीमदत्त कप टी–२० क्रिकेट प्रतियोगिता–२०८२ मा पुनर्वास नगरपालिकाका युवा ब्याट्सम्यान प्रेम ओड (सौरब) प्रतियोगिताका उत्कृष्ट खेलाडीको रूपमा चयन भएको छ।

पाँचौँ पालिका स्तरीय भीमदत्त कप टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत महेन्द्रनगरमा जारी प्रतिस्पर्धामा पुनर्वास नगरपालिका तीन खेलमध्ये दुई खेलमा पराजित ब्यहोर्दै पुनर्वासको यात्रा लिग चरणमै रोकिएको थियो। तर पुनर्वास किर्केट टिम समग्र नतिजामा सफल हुन नसके पनि सोही टोलीका युवा ब्याट्सम्यान प्रेम ओड (सौरब) प्रतियोगिताका उत्कृष्ट खेलाडीका रूपमा उदाएका छन्।

झैं

पुनर्वास नगरपालिका–८ निवासी प्रेमले प्रतियोगिताभर एकदमै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। समग्रमा खेलेका तीन खेलमा कुल १२० रन जोड्दै आफ्नो सशक्त ब्याटिङ क्षमता प्रस्तुत गरेका हुन्। उनले १०५ बलको सामना गर्दै उक्त रन बनाएका थिए।
बेल्डाँडी गाउँपालिकाविरुद्धको खेलमा प्रेमले ६५ बलमा ९० रनको आकर्षक पारी खेलेका थिए। दबाबपूर्ण अवस्थामा समेत संयमित र आक्रामक ब्याटिङ गर्दै उनले टोलीलाई प्रतिस्पर्धात्मक अवस्थामा पुर्याउने प्रयास गरेका थिए। संकट व्यवस्थापन र लामो समय क्रिजमा टिकेर रन जोड्ने क्षमताले उनी प्रतियोगिताभर अलग पहिचान बनाउन सफल भए।
टिम अघिल्लो चरणमा पुग्न नसके पनि प्रेमको व्यक्तिगत प्रदर्शनको उच्च मूल्याङ्कन गर्दै आयोजक समितिले उनलाई प्रतियोगिताको ‘बेस्ट ब्याटर’ (सर्वोत्कृष्ट ब्याट्सम्यान) घोषणा गरेको छ। उनले नगद रु ५,५५५, ट्रफी र प्रशंसापत्रसहित सम्मान प्राप्त गरेका छन्।
आयोजक समितिका एक पदाधिकारीले भने, “हार–जित खेलको स्वाभाविक पाटो हो, तर १०५ बलमा १२० रनको प्रभावशाली प्रदर्शनले प्रेम ओडलाई भविष्यका आशालाग्दा खेलाडीका रूपमा स्थापित गरेको छ।”
पुनर्वास नगरपालिका–८ का स्थानीय खेलप्रेमीहरूले पनि प्रेमको उपलब्धिप्रति खुसी व्यक्त गर्दै बधाई दिएका छन्। उनको यो प्रदर्शनले सुदूरपश्चिमको क्रिकेट क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।


