पुनर्वासमा नगरस्तरीय राष्ट्रपति रनिङशिल्डको छैठौं संस्करण भव्य रूपमा उद्घाटन

प्रकाशित:

कञ्चनपुर, पुनर्वास– कञ्चनपुरको पुनर्वासमा २०८२ को नगर स्तरीय छैठौं संस्करणको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ। आइतबार आयोजित एक भव्य समारोहमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित पुनर्वास-६ स्थित श्री जीवन ज्योति माविको खेलमैदानमा प्रतियोगिताको उद्घाटन गरिएको हो। यस वर्षको प्रतियोगितामा पुनर्वासका २६ माध्यमिक तहका विद्यालयहरू मध्ये २० विद्यालयले सहभागिता जनाएका छन्।

उद्घाटन समारोहमा प्रतिस्पर्धामा भाग लिएका विद्यालयहरूले मार्च पास र मसाल दौडको आकर्षक प्रदर्शन गरेका थिए। नगर प्रमुख तोय प्रसाद शर्माले मार्च पासलाई सलामी दिँदै उक्त प्रतियोगिता को उद्घाटन गरेका थिए।

नगर प्रमुख शर्माले उद्घाटन समारोहमा बोल्दै भने, “खेलकुद मानव जीवनका लागि अनिवार्य छ र यसले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्दछ। यस्ता प्रतियोगिताहरूले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न र आगामी दिनहरूमा आफ्नो क्षेत्रमा सफलताको शिखर चुम्नका लागि अवसर प्रदान गर्नेछन्।” उनले थपे, “यस्ता प्रतियोगिताहरूको आयोजनाले नगरस्तरीय खेलकुदको क्षेत्रलाई प्रोत्साहन र समर्थन दिनेछ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षेत्रको नाम रोशन गर्नमा मद्दत गर्नेछ।”

 

प्रतियोगिताको आयोजक विद्यालयका प्रधानाध्यापक तथा प्रतियोगिता सदस्य सचिव भरत कुमार बस्नेतले खेलकुदको महत्व र प्रतियोगितामा अनुशासनका साथ भाग लिन सबै खेलाडीहरूलाई आग्रह गर्दै भने, “प्रतिस्पर्धामा सफलता केवल जित्न मात्र नभइ, अनुशासन र खेलकुदका मूल्यहरूको अभ्यास गर्नु पनि महत्त्वपूर्ण हो।” उनले आगामी दिनहरूमा यस्ता प्रतियोगिताहरूले अधिक खेलाडीहरूको प्रतिभा उजागर गर्न र पुनर्वास नगरपालिकाको नाम सम्मानित बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।

समारोहमा उपस्थित प्रमुख अतिथिहरूमा वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, नगर स्तरीय खेलकुद विकास समिति सदस्यहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, सहभागी विद्यालयका शिक्षक शिक्षिकाहरू, समाजसेवीहरू, खेलप्रेमीहरू र पत्रकारहरू उल्लेखनीय उपस्थिति रहेको थियो ।

समारोहको अन्त्यमा नगर प्रमुख शर्माले पुनर्वास नगरपालिकामा खेलकुदको क्षेत्रमा थप अवसर र संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै, “यस प्रकारका प्रतियोगिताले युवा पुस्तालाई खेलकुदमा सक्रिय बनाउँदछ र उनीहरूको शारीरिक तथा मानसिक विकासमा मद्दत पुर्याउँछ,” भने।

यस प्रतियोगिताको आयोजनाले पुनर्वास नगरपालिकामा खेलकुदको क्षेत्रमा थप प्रोत्साहन र समर्थन पुर्याउने अपेक्षा गरिएको छ, जसले भविष्यमा युवा खेलकुदको क्षेत्रमा बढी रुचि र प्रेरणा प्राप्त गर्नेछन्।

ताजा समाचार

सम्बन्धित समाचार