स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्यसहित पुनर्वासमा वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

प्रकाशित:

किशोर तामाङ
कञ्चनपुर,माघ २०८२
कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा रोजगार सेवा केन्द्रद्वारा स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

पुनर्वास नगरपालिकाकी कार्यवाहक नगर प्रमुख भुलिया कुमारी राना को प्रमुख आतिथ्यमा पुनर्वास नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा पुनर्वास नगरपालिकाका ११ वटै वडाबाट वैदेशिक रोजगारीबाट फर्किएका प्रत्येक वडाका ४/४ जनालाई सहाभागित गराईएको थियो।

कार्यक्रममा सहभागीहरूसँग अन्तरक्रिया गर्दै वैदेशिक रोजगारीमा जाने क्रममा भोग्नुपरेका कठिनाइ, विदेशमा काम गर्दा आइपरेका समस्या तथा स्वदेश फर्किएपछि पुनःस्थापित हुन सामना गर्नुपरेका चुनौतीहरूबारे व्यापक छलफल गरिएको थियो। सहभागीहरूले आफ्ना अनुभव साझा गर्दै नीति तथा कार्यक्रमहरू व्यावहारिक र परिणाममुखी हुनुपर्ने सुझाव दिएका थिए। उनीहरूले सीपअनुसारको रोजगारी, सहुलियतपूर्ण कर्जा तथा लक्षित कार्यक्रमको आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका अधिकृत तथा योजना शाखा प्रमुख शंकर बोगटीले संघीय सरकारको वैदेशिक रोजगार ऐन, वैदेशिक रोजगारीबाट फर्किएका कामदारको पुनर्स्थापना तथा सीप उपयोगसम्बन्धी नीति र सुदूरपश्चिम प्रदेश सरकारको रोजगार तथा उद्यमशीलता प्रवर्द्धन कार्ययोजनासँग तालमेल मिलाउँदै आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले सीपअनुसारको रोजगारी, स्वरोजगार प्रवर्द्धन तथा उद्यमशीलता विकासलाई नगरपालिकाले प्राथमिकतामा राखि स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्न नगरपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो।

प्रमुख अतिथि तथा कार्यवाहक नगर प्रमुख रानाले संघीय संरचना अनुरूप स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको पुनर्स्थापनाका लागि नीतिगत तथा कार्यक्रमगत पहललाई प्रभावकारी बनाइने उल्लेख गर्नुभयो। उहाँले प्रदेश र संघीय सरकारसँग समन्वय गरी सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम र उद्यम विकासका कार्यक्रम स्थानीय तहमा कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो। उहाँले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकका समस्याप्रति नगरपालिका संवेदनशील रहेको र उनीहरूको पुनर्स्थापनाका लागि आवश्यक पहल गरिने स्पष्ट पार्नुभयो।

यसै अवसरमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सञ्जाल गठन गरिएको छ। पुनर्वास नगरपालिका वडा नं. ४ निवासी सोमप्रसाद पुडासैनीको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा पुनर्वास वडा नं. ३ निवासी तारा तामाङ, सचिवमा वडा नं. ८ निवासी सुरज सुनार र कोषाध्यक्षमा पुनर्वास नगरपालिका वडा नं. ११ निवासी तारानाथ न्यौपाने चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा पुनर्वास नगरपालिका वडा नं. १ निवासी राजेश राना, वडा नं. ७ निवासी वीरबहादुर तामाङ र वडा नं. ५ निवासी तर्क रोकाया रहनुभएको छ।

कार्यक्रमलाई सानी कार्यक्रमका ईकाई प्रमुख बिष्णु अर्यालले सहजीकरण गर्नुभएको थियो भने पुनर्वास नगरपालिकाकी रोजगार संयोजक शुसीला देउबा र रोजगार सहायक लक्ष्मण भट्टले समेत सहजीकरणमा सहयोग पुर्‍याउनुभएको थियो।

नगरपालिकाले स्थानीय तहको स्वरोजगार शाखाको समन्वय र सहकार्यमा गठन गरिएको यस सञ्जालमार्फत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको हकहित संरक्षण, पुनर्स्थापना तथा दिगो रोजगारी सिर्जनाका लागि नीतिगत समन्वय र कार्यान्वयनलाई प्रभावकारी बनाउने जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार