
किशोर कुमार तामाङ
कञ्चनपुर, १२ माघ २०८२

छिमेकी राष्ट्र भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा कञ्चनपुरको दक्षिणी भेगस्थित पुनर्वास नगरपालिकामा भूपू सैनिकहरूबीच शुभकामना आदानप्रदान तथा खानपान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

भारतीय भूपू सैनिक संघ नेपालद्वारा आयोजित उक्त कार्यक्रम पुनर्वास नगरपालिका–६ स्थित न्यू सम्राट होटल एण्ड रेष्टुरेन्टको सभा हलमा सम्पन्न भएको हो। कार्यक्रममा भारतीय सेनामा सेवा निवृत्त नेपाली भूपू सैनिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रमको स्वागत मन्तव्य दिँदै सुवेदार खेमबहादुर राना मगरले भारतको स्वतन्त्रता आन्दोलन तथा राष्ट्र निर्माणको ऐतिहासिक यात्रामा भारतीय गोर्खा सेनाको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभयो। सन् १९५० जनवरी २६ मा भारतले आफ्नै संविधान लागू गर्दै लोकतान्त्रिक गणतन्त्रको औपचारिक स्थापना गरेको स्मरण गर्दै उहाँले गणतन्त्र दिवस भारतका लागि सार्वभौमिकता, लोकतन्त्र र संविधानको सम्मानको प्रतीकका रूपमा मनाइँदै आएको बताउनुभयो।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मानार्थ क्याप्टेन जिनबहादुर तामाङले यस्ता कार्यक्रमहरूले निवृत्त जीवन बिताइरहेका भूपू सैनिकहरूबीच आपसी भाइचारा, प्रेम र सद्भाव प्रगाढ बनाउने बताउनुभयो। साथै पेन्सन निकास, प्रशासनिक झन्झट तथा भूपू सैनिकहरूका दैनन्दिन समस्याहरू समाधानका लागि यस्ता जमघटहरू प्रभावकारी माध्यम बन्ने धारणा राख्नुभयो।
नेपाल भूतपूर्व सैनिक संघ क्षेत्र नं. १ का अध्यक्ष जम्दार जितबहादुर तामाङले भूतपूर्व सैनिक संघ भूपू सैनिकहरूका लागि छाता संगठनको रूपमा क्रियाशील रहेको उल्लेख गर्नुभयो। संघमा आवद्ध भई सैनिक कल्याणकारी संघमार्फत प्राप्त हुने सेवा–सुविधाहरू सहज र व्यवस्थित रूपमा प्राप्त गर्न सकिने बताउँदै उहाँले सम्पूर्ण भूपू सैनिकहरूलाई संघमा आबद्ध हुन आग्रह गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि क्याप्टेन ओमबहादुर राना मगरले देशमा बढ्दो बेरोजगारी समस्याको समाधानका लागि भारतीय गोर्खा सेनामा भर्ती एक व्यवहारिक विकल्प रहेको धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार हाल चार वर्षे अवधिको ‘अग्निवीर भर्ती योजना’ अन्तर्गत करिब ४६ हजार सैनिकका लागि आवेदन खुला गरिएको छ। महँगो खर्च गरेर वैदेशिक रोजगारीमा जानुभन्दा बिना लगानी, अनुशासित जीवनशैली र सुनिश्चित आम्दानीको अवसर दिने यो योजना न्यून आय भएका परिवारका युवाहरूका लागि अत्यन्त उपयोगी हुने उहाँको भनाइ थियो।

कार्यक्रमको सभापतित्व गर्दै भारतीय भूपू सैनिक संघका अध्यक्ष सुवेदार मेजर मानबहादुर तामाङले भारतको ७७औँ गणतन्त्र दिवस केवल उत्सव मात्र नभई लोकतन्त्र, संविधान, समानता र नागरिक अधिकारको सम्मानको प्रतीक भएको बताउनुभयो। उहाँले भारतीय सेनामा सेवा गरेका नेपाली भूपू सैनिकहरूले भारत–नेपालबीचको ऐतिहासिक मित्रता, आपसी विश्वास र कूटनीतिक सम्बन्धलाई सुदृढ बनाउँदै आएको उल्लेख गर्नुभयो। साथै भूपू सैनिकहरूको हक–हित, सम्मान र एकताको संरक्षणका लागि संघ निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भारतीय भूपू सैनिक संघका अध्यक्ष सुवेदार मेजर मानबहादुर तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संघका सचिव रामकुमार सिग्देलले गर्नुभएको थियो।


