काठमाडौं । आगामी फागुन २१ हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले अबको २१ दिनभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यही कात्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने गरी कार्यतालिका तय भएको छ । उनी भन्छन्, ‘३० गते भनेको निवेदन दिने मिति होइन । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने मिति हो ।’

ढिलो गरी दल दर्ताको निवेदन आएको खण्डमा समस्या हुन सक्ने आयोगका अर्का एक अधिकारी बताउँछन् । उनका अनुसार दल दर्ताको निवेदन दिएको ४५ दिनभित्र आयोगले निर्णय दिनुपर्ने कानुनी व्यवस्था छ ।

‘अहिले निर्वाचनको सम्मुखमा भएकाले ४५ दिन नै लाग्छ भन्न मिलेन । व्यावहारिक रुपमा सबै कागजपत्र मिलेर आएको खण्डमा यथाशीघ्र दल दर्ताको प्रमाणपत्र दिइन्छ,’ ति अधिकारी भन्छन्, ‘व्यवहारिक रूपमा हेर्दा कात्तिक २५ गते अगाडि निवेदन आइसकेको खण्डमा ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र दिन सकिन्छ ।’
निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन लिएर पुग्नेको संख्या १६ छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार जेनजी आन्दोलन अगाडि दल दर्ताका लागि ९ वटा निवेदन परेका थिए । जेनजी आन्दोलनपछि थप सात दल दर्ताका लागि निवेदन परेको छ । १६ वटै निवेदनमाथि आयोग अध्ययनको क्रममा छ ।
सूचना अधिकारी घिमिरेका अनुसार दर्ता भएका दलको संख्या १२४ रहेको छ ।
यस बीचमा दुई वटा पार्टी फुटेर दर्ता भएका छन् । जनमत पार्टी फुटेर जनस्वराज पार्टी दर्ता भएको छ । नेपाल जनमुक्ति पार्टी फुटेर नयाँ दल दर्ता भएको छ ।
दर्ता हुन बाँकी रहेका दलहरूको विवरण अध्ययन गर्ने काम भइराखेको आयोगले जनाएको छ । कुनै दलको विधान स्पष्ट हुनुपर्ने, कुनैको सनाखतका लागि आवश्यक संख्या नपुग्ने लगायतका समस्या रहेका छन् ।
कुनै दलले प्रस्ताव गरेको चुनाव चिन्ह फेर्न आयोगले भनेको छ ।
राष्ट्रिय जेनजी पार्टी नेपालले चुनाव चिन्ह ‘क्रस खुकुरी’ प्रस्ताव गरेको छ । आयोगले यो चुनाव चिन्ह फेर्न आग्रह गरेको छ ।
राष्ट्रिय परिवर्तन पार्टी दल दर्ताको प्रक्रियामा छ । यसको अध्यक्षमा अजयकुमार छन् र चुनाव चिन्ह बाँसुरी प्रस्ताव गरेर दल दर्तको निवेदन दिएको छ ।
नेपाल लिबरल पार्टी नामक दल पनि दर्ताका लागि पुगेको छ । यो पार्टीको अध्यक्षमा गोपीलाल न्यौपाने छन् । चुनाव चिन्ह सिक्का रहेको छ ।
यसअगाडि नै नेपाल नागरिक पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले दल दर्ताको निवेदन दिएका छन् ।
श्रम संस्कृति पार्टीको अध्यक्षमा धरानका मेयर हर्क साम्पाङ रहेका छन् । गतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमा दिनेश प्रसाईं रहेका छन् ।
निर्वाचन आयोगबाट स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने दलले यही कात्तिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने हुन्छ ।
त्यसपछि मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ वजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुष १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको छ।
कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेका छ । यसकारण नयाँ दर्ता हुन चाहने दलले कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसकेर निर्वाचन प्रयोजनका लागि फेरि मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने हुन्छ । साभारः अनलाइन खबर डटकम


