चाडपर्व विशेष सुरक्षा योजनाः सुदूरपश्चिममा पाँच हजार प्रहरी परिचालन

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । प्रदेशमा रहेका सबै जिल्ला प्रहरी कार्यालयहरुले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर विश्वकर्माले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना लागू गरिएको जानकारी दिए । उनकाअनुसार चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत प्रदेशभर पाँच हजार प्रहरी परिचालन गरिएको छ ।

चाडपर्व मनाउन भारत तथा अन्य मुलुकबाट स्वदेश फर्किने नागरिकहरुलाई मध्यनजर गरेर बसपार्क तथा सीमा नाकाहरुमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताउँदै डीआईजी विश्वकर्माले कुनै समस्या भएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।

अर्कोतिर सीमा क्षेत्रमा हुनसक्ने अपराधिक गतिविधिलाई समेत ध्यानमा राखेर नियन्त्रण गर्न सोहीअनुसार प्रहरी परिचालन गरिएको उनी बताउँछन् । ‘अहिले सुदूरपश्चिम प्रदेशको शान्ति, सुरक्षाको अवस्था समान्य रहेको छ । दशैँ, तिहार र छठलाई लक्षित गरेर मातहतका प्रहरी कार्यालयले सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेका छन्’, डीआईजी बिश्वकर्माले भने, ‘प्रदेशभर पाँच हजार बढी जनशक्ति खटाइएको छ । बसपार्क र सीमा नाकाहरुमा नागरिक सहायता कक्ष स्थापना गरेर प्रहरीले सहजीकरण गरिरहेका छन् ।’

जेनजी आन्दोलनका क्रममा कारगारहरुबाट भागेका कैदीबन्दीका कारण सुरक्षा चुनौती थपिएको प्रहरीको विश्लेषण रहेको छ तर धेरै जसो कैदीबन्दी आफैं सम्बन्धीत कारागार फर्किसकेका छन् भने बाहिर रहेकाहरु समेत आउने क्रम चलिरहेको छ । फरार कैदीबन्दीलाई पक्राउ गर्न पनि छुट्टै प्रहरीहरु परिचालन गरिएको छ । प्राकृतिक विपद्को जोखिमलाई पनि ध्यानमा राखेर उद्धार कार्यको योजनालाई समेत प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।

सुरक्षा संवेदनशीलताका दृष्टिकोणले जोखिमपूर्ण मानिएको कैलालीमा पनि प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत जिल्लाभर ११ सय प्रहरी परिचालन गरिएको बताए ।

सीमा नाका र बसपार्क क्षेत्रमा नागरिक सहायता कक्ष स्थापना गरेर विभिन्न गन्तव्यमा जाने यात्रुहरुलाई प्रहरीले सहजीकरण गरिरहेको छ । चाडपर्वका बेला सीमा क्षेत्रमा हुनसक्ने अपराधिक गतिविधिलाई ध्यानमा राखेर चेकजाँच, गस्ती तथा पेट्रोलिङ जस्ता कार्य बढाइएको एसपी चन्दले बताए ।

‘हामीले चाडपर्वलाई मध्य नजर गरेर कैलाली जिल्लाको सुरक्षा व्यवस्था मजबुुत बनाएका छौं । जिल्लाभर एघार सय प्रहरी परिचालन गरिएका छन्’, चन्दले भने, ‘सीमा नाकामा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न तालिम प्राप्त कुुकुरको प्रयोग गरेर चेकजाँच बढाइएको छ ।’

उनकाअनुसार सीमा क्षेत्रमा हुुनसक्ने हातहतियार तथा लागू औषध ओसारपसार जस्ता कुरालाई गम्भीर रुपमा लिएर सोही अनुसार सुरक्षा रणनीति बनाइएको छ ।

चाडपर्वका बेला बैंक तथा वित्तीय संघसंस्था र निजी घरहरुमा चोरीको जोखिम हुने भएकाले यी संवेदनशील क्षेत्रको सुरक्षामा समेत प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार