अत्तरिया । परापूर्व कालदेखि नै दलित समुदायका मुख्य पुजारी रहने बैतडीको पाटन नगरपालिका–३ स्थित बनारसी धाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर राज्यबाट उपेक्षित बनेको छ । दलित समुदायका मुख्य पुजारी रहेर गैर दलित समुदायले समेत संयुक्त रूपमा पूजाआजा गर्ने यो मन्दिरमा राज्यको उपेक्षामा परेको हो ।

मन्दिरमा न्यूनतम पूर्वाधार निर्माणका लागि पटक पटक राज्यका निकायलाई घचघच्याइँदा पनि उपेक्षा गरिएको मन्दिरका मुख्य पुजारी धीरे लुहारले बताए । उनले बल्लतल्ल मन्दिरमा पुग्ने बाटो निर्माण गरिएको भए पनि हाल बाटो जीर्ण बनेको बताए । उनले मन्दिर बने पनि अन्य संरचना नहुँदा पूजाआजा गर्न निकै समस्या हुने गरेको बताए ।

मन्दिरको संरक्षणका लागि मन्दिर व्यवस्थापन समितिले स्थानीय सरकार सँगको सहकार्यमा १८ करोड ८० लाख लागतको डिपिआर बनाए पनि हालसम्म राज्यबाट १२ लाख मात्रै सहयोग भएको ज्योतिष आचार्य गणेश प्रसाद पन्तले बताए ।

मन्दिरको व्यवस्थापनका लागि गठित बनारसी धाम विश्वनाथ सेवा समाजको कोषाध्यक्ष तथा मन्दिरका पुजारी समेत रहेका पन्तले मन्दिरका आवश्यक पूर्वाधार निर्माणका लागि वडा देखि केन्द्र सम्म माग गरिए पनि सुनुवाइ नभएको बताए ।
‘दलित मुख्य पुजारी रहेको बनारसी मन्दिर अहिले सङ्कटमा रहेको छ’ उनले भने ‘यो मन्दिरको संरक्षणमा स्थानीय वडा सरकार देखि केन्द्र सरकार सम्मले विभिन्न प्रक्रिया अगाडि बढाउँदा पनि पहल भएन । मन्दिर अहिले एकदमै ओझेलमा परेको छ ।’ धामको बारेमा धेरै प्रचार प्रसार भए पनि धामको व्यवस्थापन नभएको उनले बताए ।
उनले सूर्नया नदीको वारी पारी मन्दिर रहे पनि नदीमा पुल नहुँदा निकै समस्या हुने गरेको बताए । उनले नदीमा पुलका लागि पनि पटक पटक माग गर्दा सुनुवाइ नभएको बताए । पुल भएमा १० मिनेटमा पुगिने बाटोमा २ घण्टा हिँडेर पुग्नुपर्ने बाध्यता रहेको उनले बताए ।
उनले २०७५ सालदेखि मन्दिरको संरक्षणका लागि काम गर्दै आएकोमा हालसम्म ७५ फिट अग्लो मन्दिर निर्माण, अलिकति सिडी निर्माण, घेर पर्खाल निर्माण र मन्दिरको जिणोद्धारा लगायतको काम भएको बताए । उनले तत्काल मन्दिरमा पुल, बाटो, धर्मशाला, शौचालयको आवश्यकता रहेको बताए ।
उनले बनारसी धाम परापूर्व कालदेखि नै दलित र ब्राह्मण एकै ठाउँमा पूजा गरिने एक मात्रै मन्दिर भएको बताए । उनले भने ‘यो अदभूत मन्दिर हो । यहाँ परापूर्व कालदेखि नै दलित र ब्राह्मण एकै ठाउँमा पूजा गरिने एक मात्रै मन्दिर पनि हो । मानव चन्दको पालादेखि नै यो परम्परा चलेको छ । यो मन्दिरमा महेन्द्र राजाले समेत परम्परागत तरिकाले पूजाआजा गरेका थिए ।’
उनले मन्दिरमा बैतडी मात्रै नभएर भारतको कुमाउ, गढवाल, नैनीताल, पन्जाबबाट समेत मानिस आउने गरेको बताए । दलित समुदायका पुजारीले पूजा गर्ने यो मन्दिरमा हरेक वर्ष माघ शुक्ल दशमीका दिन जात्रा लाग्ने परम्परा छ । माघ शुक्ल प्रतिपदाबाट पूजा सुरु भई दशमीका दिन मुख्य जात्रा मनाइन्छ । यो मन्दिरमा पूजा गरिसकेपछि सबै समुदायका दर्शनार्थीले प्रसाद र टीका ग्रहण गर्ने चलन रहेको छ ।