महेन्द्रनगरमा आरक्ष विस्थापितहरूको पुनर्स्थापनाको माग गर्दै पाँच दिनदेखि आमरण अनसन

प्रकाशित:

कञ्चनपुर । साउन २२ देखि महेन्द्रनगरको मदन चोकमा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष हाल निकुञ्ज विस्तारका क्रममा विस्थापित भएकाहरूले सुरु गरेको आमरण अनसन जारी छ ।उनीहरुले आफूहरुको पुनर्स्थापनाको माग गर्दै आमण अनसन सुरु गरेका हुन् ।

गएको असारमा काठमाडौँको माइतीघरमा अनसन बसेका जयबहादुर रोकाया र रणबहादुर सिंह आमरण अनसनमा बसेका छन् । माइतीघर अनसनका क्रममा वनमन्त्री ऐनबहादुर शाहीबाट केही दिनमैं निर्णय हुने आश्वासन पाएपछि आफूहरु फर्केको तर दुई महिना बित्दा पनि कुनै निर्णय नभएपछि आमरण अनसन बस्नुपरेको आरक्ष पीडित संघर्ष समितिका अध्यक्षसमेत रहेका रोकायाले बताए ।

अनसनरतहरुले दिवानसिंह विष्टको अध्यक्षतामा बनेको २१ औं आयोगले सिफारिस गरेअनुसार दुई हजार चार सय ७३ परिवारलाई पुनस्र्थापना गरिनुपर्ने माग गरेका छन् ।

विस्थापितहरूले कम्तीमा १० कट्ठा जमिन उपलब्ध गराउनुपर्ने, २४ वर्षसम्मको क्षतिपूर्ति दिनुपर्ने, ढक्का, लल्लरे डाँडा र तारापुर शिविरका विस्थापितलाई तत्काल बसोबासको व्यवस्था गरिनुपर्ने, आरक्ष विस्थापितलाई द्वन्द्वपीडित घोषणा गरिनुपर्ने र बालबालिकालाई शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने माग गरेका छन् ।

आरक्ष विस्थापितहरू कञ्चनपुर जिल्लाका विभिन्न १४ वटा शिविरमा बसोबास गरिरहेका छन् । सबैभन्दा बढी ढक्का शिविरमा ६ सयभन्दा बढी परिवार बसोबास गरिरहेका छन् । साथै, तारापुर र लल्लरे डाडामा पनि विस्थापित बसिरहेका छन् । बाणी दैजी लगायतका स्थानमा विस्थापित बसोबास गरिरहेका छन् ।

महेन्द्रनगरमा आमरण अनसनसँगै बेदकोट नगरपालिकाको दैजीमा, बनहरा शिविरमा र ढक्का शिविरमा पनि रिले अनसन भइरहेको रोकायाले बताए । उनका अनुसार माग पूरा नभए अन्तिममा आफ्नो जमिन आफै अमिन भएर नापजोख गरेर जमिन छुट्याइने बताए ।

तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षको पूर्वी क्षेत्रमा १५५ वर्गकिलोमिटर जमिन अधिग्रहण गरेर विस्तार गरिएको हो । हाल निकुञ्जमा स्तरोन्नति गरिएको शुक्लाफाँटाको क्षेत्रफल ३ सय ५ वर्गकिलोमिटर रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार