महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कञ्चनपुर जिल्ला सचिव रामदत्त भट्ट पुर्पक्षका लागि कारगार चलान भएका छन् भने उनकी श्रीमती सादा तारेखमा छुटेकी छन् ।

साउन ३ गते शनिबार भीमदत्त नगरपालिका–७ की एक महिलाले आत्महत्या गरेपछि आत्महत्या दुरुत्साहनको जाहेरीमा सचिव भट्ट र उनकी श्रीमती अनुसन्धानका लागि पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराले भीमदत्त नगरपालिका–६ का वासिन्दा रामदत्त भट्टलाई शुक्रबार कञ्चनपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको र उनकी श्रीमतीलाई सादा तारेखमा रिहा गरेको बताए ।

भट्ट र उनकी श्रीमतीले ती महिलालाई आत्महत्या गर्न बाध्य बनाएको जाहेरी परेपछि दम्पत्तिलाई नियन्त्रणमा लिइएको थियो ।
भट्टले मृतक महिलासँग अनैतिक सम्बन्ध बनाएको र त्यही समबन्धका कारण मृतकले विषादी सेवन गरेर आत्महत्या गरेको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।


