विद्युत् विस्तार र सबस्टेसन सञ्चालनको माग गर्दै कञ्चनपुरको पुनर्वास नगरपालिकाको तर्फबाट नगर उपप्रमुख भुलिया कुमारी रानाले उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री दीपक खड्का समक्ष ज्ञापनपत्र बुझाउनु भएको छ । ज्ञापनपत्रमा पुनर्वासका कृषकहरूलाई सहज सिँचाइ सुविधा उपलब्ध गराउन साना सिचाइ प्रवद्र्धन कार्यक्रम सञ्चालन तथा सबस्टेसन सञ्चालनको माग गरिएको पुनर्वास नगरपालिकाले जनाएको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री खड्काले समस्या चाँडै समाधान हुने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया कैलालीका प्रमुखलाई जतीसक्दो चाडो सबस्टेसन सञ्चालनमा ल्याउन निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

स्थानीय तहको निरन्तर पहल र संघीय सरकारको ध्यानाकर्षण पछि विद्युत् समस्या समाधानको आशा पलाएको छ । अब सबस्टेसन सञ्चालन सँगै स्थानीय बासिन्दाले स्थायी रुपमा नियमित र स्थिर विद्युत आपूर्ति पाउने अपेक्षा गरेका छन् । केही दिन पहिले पुनर्वासका ब्यवसायीहरुले पनी पुनर्वास उद्योग बाणीज्य संघ मार्फत नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरीयामा पुगेर ज्ञापन सहितको ध्यानाकर्षण गराएका थिए ।