दोधारा चाँदनीमा अबैध काठका ९ गोलिया सहित ट्रेक्टर नियन्त्रणमा, अनुसन्धानका लागि निकुञ्ज पठाइयो

प्रकाशित:

दोधारा–चाँदनी । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको संयुक्त टोलीले कञ्चनभोज क्षेत्रबाट अवैध सागवान काठसहित ट्रेक्टर र मानिसहरूलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका–७ स्थित कञ्चनभोजबाट कर्णाली प्रदेश–०२–००१ त ००४९ नम्बरको ट्रेक्टरमा अवैध रूपमा ढुवानी गरिँदै गरेको अवस्थामा सागवान जातका ९ वटा काठका गोलिया बरामद गरिएको हो।

पक्राउ गरिएको ट्रेक्टरमा लोड गरिएको सागवान काठको परिमाण करिब ४० देखि ४५ क्युफिट रहेको अनुमान गरिएको छ।

अवैध रूपमा काटिएको काठ, ट्रेक्टर र सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मझगाउँ पोस्टमा बुझाइएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार भारतको सीमावर्ती क्षेत्र नगला जंगलबाट काठ चोरी हुने घटना पटक–पटक भइरहेका छन्। स्थानियवासीहरूका अनुसार यस्ता घटनाका क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकहरूको आवत–जावतमा समेत अवरोध गर्ने गरेको गुनासो रहेको छ।

ूहामी नेपाली भूमिबाट जंगलतर्फ जान खोज्दा पनि एसएसबीले रोक्ने र धम्क्याउने गर्छन्,ू एक स्थानीयवासीले बताए, ‘तर तस्करहरू भने सजिलै काठ चोरी गर्ने गरेका छन्।

यसैबीच, इलाका प्रहरी कार्यालयले सीमावर्ती क्षेत्रमा अवैध काठ तस्करी नियन्त्रणका लागि निगरानी कडा पारिएको जानकारी दिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अधिकारीहरूले पक्राउ परेका काठको स्रोत, ट्रान्सपोर्टमा संलग्न पक्ष र काठ तस्करीमा संलग्न समूहबारे थप अनुसन्धान अघि बढाइने जनाएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार