सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी धनगढीमा कायम गर्ने चर्चा चलेपछि कैलालीको गोदावरी नगरपालिकावासी सशङ्कित भएका छन् ।प्रदेश सरकारले आफैँले दुई तिहाइ बहुमतले टुङ्गो लगाएको ठाउँबाट राजधानी सार्ने चेस्टा भइरहेको भन्दै उनीहरू सशङ्कित भएका हुन् । राजधानी सार्ने कुरा बाहिरिएपछि उनीहरूले सङ्घर्षको तयारी गर्न थालेका छन् ।

तत्कालीन प्रदेश सभाले २०७५ असोज १२ गते दुई तिहाइ बहुमतबाट कैलालीको गोदावरी नगरपालिका(२ र ४ मा प्रदेशको स्थायी राजधानी तोकेको थियो तर सदनको बहुमतले तय गरेको राजधानी कार्यान्वयन हुन सकेको छैन । राजधानी निर्माणका लागि प्रदेश सरकारले वनक्षेत्रको जग्गाको भोगाधिकार प्राप्त गर्न नसकेपछि त्यसको विकल्पका कुरा बाहिर आइरहेका छन् ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गोदावरीमा राजधानी कार्यान्वयन नभए त्यसमा धेरै अलमल गर्न नहुने धारणा सार्वजनिक रूपमा राख्दै आएका छन् । केही महिनाअगाडि भारत भ्रमणबाट फर्केपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले राजधानीको विषयले प्रदेश सभामा प्रवेश पाउनुपर्ने कुरा राएका थिए ।

राजधानी सार्ने हल्ला चलेपछि गोदावरी नगरपालिकाका सामाजिक अगुवाहरूले आइतबार छलफल गरेर राजनीतिक दलका नेतालाई साथमा लिएर राजधानी जोगाउन सङ्घर्ष गर्ने निष्कर्षमा पुगेका छन् । सामाजिक अगुवा राजेन्द्र खड्काले सरकारले गोदावरीमाथि अन्याय गरे जस्तोसुकै सङ्घर्ष गर्ने चेतावनी दिए । उनले सबै राजनीतिक दललाई साथमा लिएर सङ्घर्षमा उत्रिने उल्लेख गरे ।
प्रदेश राजधानी तोकिएकै ठाउँमा हुनुपर्ने युवा नेता शङ्कर खड्काको भनाइ छ । उनले राजधानी विकासको केन्द्र, भविष्यको बाटो र गोदावरीको पहिचान रहेकाले यसका लागि सबैले बोल्न जरुरी रहेको औँल्याए । प्रदेश सभाबाट दुई तिहाइ बहुमतले तय गरिएको राजधानी अन्यत्र सार्न प्रदेश सभाबाटै दुई तिहाइ बहुमतको निर्णय आवश्यक हुन्छ ।