महेन्द्रनगर। शिक्षा केवल कक्षाकोठासम्म सीमित रहँदैन—यो प्रेरणा हो, यात्राको सुरुआत हो, अनि भविष्य निर्माणको संकल्प पनि। यही भावनासहित महेन्द्रनगरस्थित देवल इन्स्टिच्युट प्रालिले शनिबार एक विशेष समारोहको आयोजना गर्दै नव आगन्तुक विद्यार्थीहरूको भव्य स्वागत र विभिन्न कोर्स सफलतापूर्वक सम्पन्न गरेका २०० जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्यो।

उक्त कार्यक्रम भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख केशव सिंह बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। उनले देवल इन्स्टिच्युटले दिँदै आएको प्राविधिक तथा भाषिक सीप शिक्षाले स्थानीय तहमा दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याएको उल्लेख गर्दै, यस्ता कार्यक्रमहरू भविष्य निर्माणको जग हुनसक्ने बताए।

देवल इन्स्टिच्युटका सञ्चालक हिक्मत बुढाका अनुसार, कार्यक्रममा आधारभूत कम्प्युटर तालिम र अंग्रेजी भाषा कक्षा सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो।साथै, हालै भर्ना भएका १८ महिने कम्प्युटर आईटी, होटल म्यानेजमेन्ट, (EDF) लगायतका कोर्समा अध्ययन प्रारम्भ गर्ने नवप्रवेशी विद्यार्थीहरूलाई औपचारिक स्वागत गरिएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूका अनुहारमा आत्मविश्वास झल्किएको देखिन्थ्यो। “सर्टिफिकेट मात्रै होइन, भविष्यको ढोका पनि खुलेको अनुभव गर्यौं,” एक विद्यार्थीको प्रतिक्रिया थियो।
यस कार्यक्रमले विद्यार्थीहरूलाई थप प्रोत्साहनका साथै अध्ययनमा निरन्तरताका लागि उत्प्रेरणा प्रदान गरेको इन्स्टिच्युटले जनाएको छ।