डडेलधुरा। सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो सिउँडीफल (ड्र्यागन फ्रुट) को बगैँचा डडेलधुराको चुरे पर्वतमा स्थापना भएको छ। आलिताल गाउँपालिका–४, चुडापानीमा रहेको बाँझो जमिनमा पाँच सयभन्दा बढी बिरुवा रोपिएको छ।

स्थानीय कर्णबहादुर बोहोराले यसअघि दुई सय बिरुवाबाट यसै वडाको जालटुडामा ड्र्यागन फलको खेती थालेका थिए। उनले रोपेका बिरुवाले डेढ वर्षमै फल दिन सुरु गरेपछि यस वर्ष बाँझो जमिनमा पाँच सयभन्दा बढी बिरुवा रोपिएको कृषि ज्ञान केन्द्र डडेलधुराका कार्यालय प्रमुख नरेन्द्र पनेरूले बताए।

उनका अनुसार गत आर्थिक वर्ष २०८१र८२ मा कृषि ज्ञान केन्द्र डडेलधुराले किसान कर्णबहादुर बोहोरालाई पाँच सय बिरुवा, थाँक्रा र मलमा सहयोग गरेको छ। पहाडी जिल्लामै ठुलो र नमुना बगैँचा स्थापना गर्ने लक्ष्यसाथ तीन लाख ६२ हजार रुपियाँ सहयोग गरेको उनले बताए। बाँझो जमिनमा १० लाख रुपियाँ खर्च गरी कलश कृषि पशुपन्छी तथा नर्सरी बगैँचा स्थापना गरिएको उनले बताए।

ड्र्यागन फल र बिरुवा बाहिरी जिल्लामा निर्यात गर्ने मुख्य उद्देश्य रहेको कार्यालय प्रमुख पनेरूको भनाइ छ। ड्र्यागन फल नवीनतम भएको र यसलाई उपभोक्ताले खोजी खोजी खाने भएकाले नमुना बगैँचा बनाउने कृषि ज्ञान केन्द्रको योजना रहेको उनले बताए।
उनका अनुसार नमुना प्रदर्शनका लागि अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकाका करिब २० जना कृषकले खेती गरिरहेका छन्। बोहोराले अढाई वर्षपहिले रोपेका दुई सय बिरुवाले गत वर्षदेखि नै फल दिन सुरु गरेको र यस वर्ष करिब २० क्विन्टल फल्ने अनुमान गरेका छन्।
एउटा बोटमा एक वर्षमा २० किलो जति फल्ने उनले बताए। जेठदेखि कात्तिकसम्म ड्र्यागन फल्ने र एउटा बिरुवामा १८ औँ लटसम्म फल लाग्ने उनले बताए। एउटा दाना पाँच सयदेखि छ सय ग्रामसम्म तौल भएको फलेको उनले बताए।गत वर्ष प्रतिकेजी चार सय रुपियाँका दरले बेचेको बताउँदै उनले प्रतिकेजी एक सय रुपियाँ पाए पनि किसानलाई घाटा नहुने उल्लेख गरेका छन्। उनले सी रेड जातको ड्र्यागन फ्रुट रोपेको बताए।