कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका बासिन्दा जंगली हात्तीको आतंकबाट त्रसित बनेका छन्। साउन २ गते मध्यरातमा एउटा हात्तीले मन्सरादेवी साउदको घर भत्काएर अन्नपात सखाप पारेपछि स्थानीयवासीमा त्रास अझ बढेको छ।राति करिब १ः०० बजे मन्सरादेवी साउद आफ्ना छोरासँग कच्ची घरको भित्री कोठामा सुतिरहेकी थिइन्।

अचानक भित्तो हल्लियो र उनलाई ठूलो जनावरले पर्खालमै हिर्काएजस्तो महसुस भयो। पहिलोपल्टुत भूकम्प हो कि भनेर डराएँ, मन्सराले सम्झिइन्, बाहिर निस्किएँ, आँगनमा अँध्यारो थियो, तर छायाँजस्तो देखेँ हात्तीको विशाल शरीर। एक सेकेन्ड पनि सोच्न सकिनँ, छोरालाई तानेर छिमेकीकहाँ भागेँ।

धन्न भगवान्ले आमाछोराको ज्यानै जोगाए, हात्तीले तोडेको भित्तो (पर्खाल) नजिकै सुतेका थियौँ, बाँच्यौँ। त्यसबेला केही सोचिनँ, छोरा र आफ्नो ज्यान जोगिए हुन्थ्यो भनेर भगवान्सँग प्रार्थना गर्दै निस्किएँ। हात्तीको बथानले घरको भित्ता भत्काएर भित्र राखिएको सबै अन्नपात खाएको र बचेको सबै खुट्टाले कुल्चेर कामै नलाग्ने बनाइदिएको साउदले बताइन्।

त्यो रात मेरा लागि कहिल्यै नबिर्सिने भयो, उनले भनिन्।छिमेकी देवकी भट्टले अझ अचम्मको कुरा बताइन्, हात्तीले मन्सराको घरमात्र भत्कायो, वरिपरिका घरमा केही गरेन। गएको वर्ष पनि मन्सराकै खेतको धान हात्तीको बथानले खाएर सखाप पार्यो, अरूको धानमा खुट्टासमेत हालेन।
अहिले छिमेकीहरूले मन्सराको भत्केको घरको भित्तो लिपपोत गरिदिएका छन्।भट्टले भनिन्, केही दिनअघि मणि साउदको घर पनि हात्तीले भत्काएको थियो। हात्ती अब बस्तीका स्थायी पाहुना भएजस्ता छन्, जुनसुकै बेला पनि आइपुग्छन्। राति घरभित्र सुत्नै डर लाग्छ। गौरी साउदले बस्तीमा सडकबत्ती नभएकोले थप समस्या भएको बताइन्।
बत्ती भए हात्ती बस्तीमा पसेको टाढैबाट देखिन्थ्यो। अँध्यारोमा हात्ती आएको थाहा हुँदैन, जब घर भत्काउन सुरु गर्छन् तबमात्र थाहा हुन्छ। त्यसबेला ज्यान जोगाउनकै चिन्ता हुन्छ।हात्तीले न खाद्यान्न छोड्छ, न घर। ऐश्वर्या सामुदायिक वनको सीमावर्ती बस्ती हात्तीको नियमित मार्ग बनेको छ।
सो वनका अध्यक्ष ईश्वर बुढाले भने, हात्तीले खानेपानीको पाइप तानेर तोडेपछि ४० परिवार पिउने पानीबाट वञ्चित भएका छन्, मानवीय सङ्कट निम्तिएको छ।हात्ती आतंक रोक्नका लागि मेसवायर, पर्खाल वा चेतावनी प्रणालीको आवश्यकता देखिएको छ। स्थानीयलाई रातभर आगो बालेर हात्ती भगाउनुपर्ने बाध्यता छ।


