सवारी दुर्घटनापछि आक्रोशित स्थानीय, आरोपित प्रहरीमाथि कारबाहीको माग

प्रकाशित:

 महेन्द्रनगर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी क्षेत्रमा एक सवारी दुर्घटनापछि पूर्व–पश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन्। झलारीका ललितराज जोशीको सवारी दुर्घटनामा मृत्यु भएपछि उनका आफन्तहरूले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग राख्दै आइतबार बिहानदेखि सडक ठप्प पारेका हुन्।

मृतकका भाइ हेमराज जोशीका अनुसार दुर्घटनामा प्रहरी नै सवार मोटरसाइकल संलग्न भएको र त्यसको कागजपत्र समेत नभएको आरोप छ। ‘उनीहरूलाई कारबाही हुनुपर्छ र उचित क्षतिपूर्ति दिनुपर्छ,’ उनले बताए।

जोशी शुक्रबार बेदकोट नगरपालिका–१० त्रिपुरा मन्दिर नजिक दुर्घटनामा परेका थिए। बा ६६ प ८७८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार मृतककी श्रीमती लक्ष्मी ठगुन्नाले दिएको जाहेरीका आधारमा घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ। प्रहरी जवान सिद्धराज जोशी र अमित भट्टमाथि आवश्यक अनुसन्धान भइरहेको र कानूनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार