महेन्द्रनगर । चालु आर्थिक वर्षको पहिलो छ महिनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हजार ३८८ जना पर्यटकले भ्रमण गरेका छन्। तीमध्ये २,१८१ जना आन्तरिक पर्यटक हुन् भने ९० जना सार्क मुलुकका र ११७ जना अन्य विदेशी पर्यटक रहेका छन्।

निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, भ्रमणकर्तामध्ये १,१६० महिला र १,२२८ पुरुष छन्। चैत महिनामा ५२० जना पर्यटक आएर सबैभन्दा बढी आगमन भएको हो।

कात्तिकदेखि फागुनसम्म निकुञ्ज घुम्ने क्रम जारी रहे पनि साउन, भदौ र असोज महिनामा वर्षाका कारण भ्रमण गतिविधि ठप्प रहेको थियो।

अघिल्लो वर्ष (आ.व. २०८०/८१) मा कुल ४,५७४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए। त्यसमा ४,२९४ जना आन्तरिक, १३७ जना सार्क र १४३ जना अन्य विदेशी पर्यटक थिए।
२०३१ सालमा स्थापना भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको छ। यस निकुञ्जमा दुर्लभ वन्यजन्तु, विशाल घाँसे मैदान, र विश्वकै ठूलो बाह्रसिङ्गा बथान पाइन्छ।
यहाँ पाटेबाघ, एकसिङ्गे गैँडा, चितुवा, जंगली हात्ती, घोडगधा, कृष्णसार, बदेल, जरायो, चित्तल, र झन्डै ५३ प्रजातिका स्तनधारी जनावर तथा ४४९ प्रजातिका चराचुरुङ्गी छन्।
निकुञ्जभित्रको रानीताल लगायतका जलस्रोतमा मगर गोही र अन्य जलचरहरू पनि पाइन्छन्, जसले पर्यटकलाई थप आकर्षण प्रदान गर्छ।