शिक्षक आन्दोलनलाई असार १५सम्म विश्राम, सरकारसँग आश्वासनको आधारमा

प्रकाशित:

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गराउन दबाब दिन थालेको आन्दोलनमा रहेका शिक्षकहरूले हाललाई आन्दोलनको गतिविधि रोकेका छन् । आन्दोलनको आरम्भमा “कि जितिन्छ, कि बितिन्छ” भन्ने दृढ नाराका साथ सडकमा उत्रिएका शिक्षकहरू हाल भने सरकारसँग भएको प्रारम्भिक सहमतिपछि असार १५ गतेसम्मको लागि प्रतीक्षामा बसेका छन्।

सरकारले असार १५ भित्र संसद्बाट विद्यालय शिक्षा ऐन पारित गरिने प्रतिबद्धता जनाएको छ। यदि तय भएको मितिमा ऐन जारी नभए अझ कडा आन्दोलनको चेतावनी शिक्षकहरूद्वारा दिइएको छ।

शिक्षकहरूले आन्दोलनकै क्रममा “एक थान ऐन नलिई घर नफर्किने” घोषणा गरेका थिए। तर हाल उनीहरू ऐनको वाचा मात्र लिएर घर फर्किएका छन्। गृह मन्त्री रमेश लेखकले समेत असार १५ पछि शिक्षकहरूको घरमै ऐन पुर्‍याउने आश्वासन दिएका छन्।

सुरुमा सरकारको वार्ता टोलीसँग छलफल नगर्ने अडान राखेका शिक्षकहरू अन्ततः तय गरिएको मिति भित्र ऐन जारी हुने सहमतिमा पुगेका छन्। यसले सामाजिक सञ्जालमा केही शिक्षकहरूलाई आक्रोशित बनाएको छ, जसमा कतिपयले “न जितियो, न बितियो, खल्ती रित्तियो” भन्ने टिप्पणी गरेका छन्।

शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन स्थगन नभई अस्थायी विश्राम मात्र भएको बताएका छन्। ऐन जारी नभए चर्को रूपमा आन्दोलन दोहोरिने उनको भनाइ छ। त्यस्तै, महासङ्घ सहअध्यक्ष नानुमाया पराजुलीले राजधानीमै रहेर दबाबमूलक कार्यक्रमहरू अगाडि बढाइने जानकारी दिइन्।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले आन्दोलन ‘सेफ ल्यान्डिङ’ मा पुगेको बताए। ऐन जारी नहुँदासम्म आन्दोलनको ताप कायम राखिने उनको भनाइ छ।

ताजा समाचार

सम्बन्धित समाचार