राहुलको हत्या गरी गाडिएको अवस्थामा भेटियो शव, ६ जना पक्राउ

प्रकाशित:

काठमाडौं । काठमाडौंको माकलबारीमा एक जना किशोरको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
गोकर्णेश्वर नगरपालिका(८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कसप पछाडि रहेका जमिनमा एक किशोरलाई गाडिएको खुलेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार यस घटनामा संलग्न ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

सर्लाही चक्रघट्टा गाउँपालिका(८ घर भई गोकर्णेश्वर बाहुनधारा बस्ने १९ वर्षीय राहुल साहको शव फेला परेको हो। उनी चैत ११ गतेदेखि बेपत्ता थिए। उनको शव चैत १५ गते फेला परेको हो।

साहको हत्या गरेको आरोपमा प्रहरीले बाहुनधारा बस्ने २२ वर्षीय निपु मण्डल, १८ वर्षीय विजय यादव, १८ वर्षीय करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल र भारतीय नागरिक २९ वर्षीय सुनिल शर्मा पक्राउ परेका हुन्।

शर्मा उक्त मोटरसाइकल वर्कशप सञ्चालक हुन्। उनीबाट साहले केही समय अघि ६० हजार रुपैयाँ लिएका थिए। शर्माले ब्याजसहित एक लाख ५० हजार रुपैयाँ फिर्ता गर्नुपर्ने भनेपछि उनीहरूबीच विवाद भएको एसपी बोहराले बताए।
‘ब्याजसहित एक लाख ५० हजार चाहिन्छ भनेपछि विवाद भएको रहेछ। त्यही विवादको क्रममा हत्या गरी गाडेका रहेछन्,’ उनले भने।

पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार