दोधारा चाँदनीमा डे-नाइट टी-१० क्रिकेट प्रतियोगिता सुरु, २१ टीम हुँनेछन् सहभागि

प्रकाशित:

महेन्द्रनगर । दोधारा चादनीमा डे–नाइट टी–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । दोधारा चादनी नगरपालिका वडा नं. १ को खेल मैदानमा मंगलबार देखि ‘उज्यालो रात, खेलको सौगात, लागू औषध मुक्त हाम्रो समाज’ भन्ने नाराका साथ सूदुर मिडिया प्रा.लि. को आयोजना तथा वडा न. १ को आर्थिक सहयोगमा डे–नाइट टी–१० क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

कंचनपुरमै पहिलो पटक ‘लाइभ स्कोरिङ’ सहितको ‘लाइभ भिडियो’ बाट प्रसारण हुने भएको छ । उक्त प्रतियोगितामा २१ वटा टिमले सहभागीता जनाएका छन्।

प्रतियोगिता राति समेत खेलिने भएकाले खेलप्रेमीहरूले खेलको आनन्द लिन अपेक्षा गरिएको छ। यस कार्यक्रमले खेलकुद प्रति युवाहरूको रुचि बढाउनुका साथै लागू औषध मुक्त समाज निर्माणमा पनि ठूलो भूमिका खेल्ने वडा नं. १ का अध्यक्ष बिक्रम बहादुर चन्दले बताए ।

उनले भने, ‘यस प्रतियोगिताले युवाहरूलाई खेलकुदमा संलग्न गराउनुका साथै उनीहरूलाई नशा र मादक पदार्थबाट टाढा राख्न मद्दत गर्ने र यस प्रतियोगिताले न केवल खेलकुदको विकासमा योगदान दिनेछ ।’ उक्त खेलले लागू औषध मुक्त समाज निर्माण गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने वडाध्यक्ष चन्दले बताए ।

आयोजक तथा सुदूर मिडिया प्रालीका सञ्चालक सुरेश भट्टले उक्त क्रिकेट प्रतियोगितालाई सामाजिक चेतना जगाउने र खेलकुदको विकास गर्ने उद्देश्य सहित आयोजना गरिएको बताए । प्रतियोगिता सफल बनाउन स्थानीय बासिन्दा, खेल प्रेमी लगायत सम्पुर्णमा आयोजक भट्टले सहयोग गर्न अपिल गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार