लालझाडीमा सेनाको स्वास्थ्य शिविरबाट एक हजार जनता लाभान्वित

प्रकाशित:

महेन्द्रनगर। नेपाली सेनाले कञ्चनपुरको लालझाडी गाउँपालिका–२ शंकरपुरमा स्वास्थ्य शिविरको आयोजना गरेको छ।
श्री नम्बर २५ वाहिनी रुद्रध्वज गण र श्रीदल गुल्मको संयोजनमा सामुदायिक अन्तर्गत कार्यक्रम अन्तर्गत शनिबार स्वास्थ्य शिविरको आयोजना गरिएको हो।

क्ञ्चनपुरको दुग्रम ग्रामीण क्षेत्रमा राखिएको स्वास्थ्य शिविरमा करिब एक हजार स्थानीयले निःशुल्क स्वास्थ्य सेवा लिएको श्री नम्बर २५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी माधव थापाले बताए। उनका अनुसार ग्रामीण क्षेत्रमा निःशुल्क रुपमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।

शिविरमा ग्रामीण क्षेत्रका स्थानीयलाई फिजियोथेरापी, छाला तथा यौन रोग, अर्थो ओपिडी, अल्ट्रासाउण्ड, भिडिओ एक्सरे, दाँत, स्त्री रोग र बाल रोग सम्बन्धि स्वास्थ्य सेवा प्रदान गरिएको छ।

यस्तै, ह्वील चियर, बैशाखी लगायत उपकरण पनि सेनाले वितरण गरेको छ। स्वास्थ्य शिविरबाट लालझाडीका स्थानीय बालबालिकादेखि वृद्धवृद्धा लाभाविन्त भएका छन्। लालझाडी गाउँपालिका–२ कञ्जका ५७ वर्षीय अन्सारी रानालाई केहीदिनयता कम्मर दुख्ने र पहेलो पिसाब आउने समस्या थियो। आर्थिक अवस्था कमजोर भएर उपचारका लागि सुविधा सम्पन्न अस्पताल जान पाएका थिएनन्। गाउँमै नेपाली सेनाले स्वास्थ्य शिविर लगाएपछि उनले जाँच गराएर औषधी लिएका छन्।

गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि रानाले खुसी व्यक्त गरे। ‘पैशा नभएर अस्पताल गएको थिएन। निःशुल्क स्वास्थ्य शिविर लाग्ने थाहा पाएपछि यहाँ आएको हुँ,’ उनले भने, ‘गाउँमै स्वास्थ्य जाँच गरेर औषधी लिन पाउँदा राहत भएको छ।’

लालझाडी गाउँपालिका–३ नन्दगाउँका ५५ वर्षीय बाबुराम बडायक पनि स्वास्थ्य सेवाका लागि आफ्नो नामको पर्चा काटेर डाक्टरलाई भेट्न पालो कुरेर बसेका थिए। उनलाई हातखुट्टा दुख्ने समस्याले सताइरहेको छ। त्यही समस्या लिएर स्वास्थ्य जाँच र विशेषज्ञ डाक्टरको परामर्श लिन उनी सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा बिहानै पुगेका हुन।

‘पैशा नभएर उपचार नगराएर घरमै बसेका बिरामीलाई स्वास्थ्य शिविरले ज्यादै राहत मिलेको छ,’ उनले भने, ‘आर्थिक अभावले अस्पताल गएर उपचार गराउन सम्भावना थिएन।’ कञ्जकै छोटी बडायक गाउँकै स्वास्थ्य चौकीमा समस्या लिएर बारम्बार पुगिसकिन्।

उनलाई पटक पटक टाउको दुख्ने समस्या छ। गाउँकै स्वास्थ्य चौकीबाट औषधी लिएर प्रयोग गर्छिन्। औषधी सेवन गर्दा टाउको दुखेको राम्रो भएपनि पछि फेरि उनलाई टाउको दुख्ने समस्या बल्झिरहन्छ। ‘स्वास्थ्य शिविरबाट औषधी लिएर आएकी छुँ। विशेषज्ञ डाक्टरले परामर्श पनि दिएका छन्,’ उनले भनिन्, ‘अब त्यहीँअनुसार औषधी उपचार गर्छुँ।’

ताजा समाचार

सम्बन्धित समाचार