नेपाली कांग्रेसका नेता एनपी साउदले सामाजिक सञ्जाललाई नियमन गर्न जरूरी भए पनि नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन नसक्ने बताएका छन्।नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा गरेको जिल्ला शाखा अधयक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै उनले प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै कदमविरुद्ध उभिने बताएका हुन्।

‘सामाजिक सञ्जाललाई नियमन गर्न जरूरी छ तर नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन सक्दैन,’ उनले भने ‘पत्रकारका आवाजहरू बन्द गर्ने कदमविरुद्ध हामी पत्रकारका साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौँ। प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै कदमविरुद्ध हामी उभिनेछौँ।

साउदले जनताको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने दायित्व पत्रकारको भएको बताए।‘जनताका मुद्दाहरूलाई राष्ट्रिय मुद्दा बनाउने दायित्व प्रेस हो। पत्रकारले आफ्नो दायित्वलाई बिर्सन हुँदैन,’ उनले भने, ‘पत्रकार र राजनीतिक दलहरूले पैसा लिएका हुँदैनन्। संयमता र विवेक अपनाउन जरूरी छ।

नेता साउदले संसदलाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न नसक्ने पनि बताए। ‘कांग्रेस सरकारमा हुँदा पनि हामीले सात बुँदेको कार्यान्वयन गर्नेबारे र अध्यादेशको विषयमा पनि हामीले प्रश्न गरिरहेका छौँ,’ उनले भने, ‘संसदलाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न सक्दैन।