कञ्चनपुर । कञ्चनपुरमा उत्थानशील युवा सञ्जाललाई विपद् पूर्वानुमान तथा प्रतिकार्यमा आधारित ‘आधारभूत मानवीय सहायता मापदण्ड’ सम्बन्धी अभिमुखीकरण गरिएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको आयोजना तथा भीमदत्त नगरपालिकाको समन्वयमा भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालका पदाधिकारीहरूलाई विपद् पूर्वानुमान तथा प्रतिकार्यमा आधारित मानवीय सहायता मापदण्डसम्बन्धी अभिमुखीकरण गरिएको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का संस्थागत विकास तथा मानव संसाधन व्यवस्थापक बिनोद बिक्रम जैरूले उत्थानशील युवा सञ्जालको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि साथै विपद्का बेला उनिहरूको भूमिका र योगदानबारे जानकारी प्रदान गर्नका लागि अभिमुखिकरण गरिएको बताउनुभयो।

उहाँले युवाहरूको विचार र उद्देश्य समाज रूपान्तरणका लागि अपरिहार्य रहेको बताउँदै युवा शक्तिलाई समाज सेवामा परिचालन गर्न सक्नुपर्नेमा जोड दिनुभयो।
उत्थानशील युवा सञ्जालका संरक्षक तथा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विपद्को समयमा मानिसहरूको ज्यान र सम्पत्ति जोगाउनका लागि युवा शक्ति सक्रिय हुनुपर्ने धारणा राख्नुभयो भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेकख जोशीले विपद् व्यवस्थापन तथा अन्य रचनात्मक क्रियाकलापहरूका लागि उत्थानशील युवा सञ्जालको क्षमता अभिवृद्धि गर्न भीमदत्त नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो।
भीमदत्त नगरपालिका वडा नम्बर-११ का वडाध्यक्ष प्रकाश थापाले उत्थानशील युवा सञ्जालले विगतमा जलवायु अनुकुलन, विपद् व्यवस्थापन साथै अन्य सामाजिक कार्यमा सराहनिय कार्य गरेको स्मरण गर्दै आगामी दिनमा सञ्जालले थप सशक्त भएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले विपद्का बेला समुदायलाई बचाउनका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण रहने भएकाले विपद् पूर्वानुमान तथा प्रतिकार्यमा आधारित मानवीय सहायता मापदण्डसम्बन्धी तालिमको आयोजना गरिएको बताउनुभयो।
कार्यक्रममा उपस्थित उत्थानशील युवा सञ्जालका सदस्यहरूले विपद् पूर्वानुमान तथा प्रतिकार्य साथै राहत र पुनर्निर्माण कार्यमा संलग्न हुनका लागि आवश्यक ज्ञान र सीप प्राप्त गर्ने अवसर पाएको बताएका छन्।
उनिहरूले यो अभिमुखीकरणले भविष्यमा विपद्को अवस्थामा प्रभावकारी कदम चाल्न साथै समाज रूपान्तरणमा थप रचनात्मक कार्य गर्न उर्जा प्रदान गरेको बताएका छन्।
कार्यक्रममा एनएनएसडब्ल्यूएका संस्थागत विकास तथा मानव संसाधन व्यवस्थापक बिनोद बिक्रम जैरू, सुदृढ परियोजना संयोजक राजकुमार सुनार, पूर्वसूचना तथा पूर्वप्रतिकार्य अधिकृत भोजराज भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, आधारभूत मानवीय सहायता मापदण्ड, पूर्वसूचना तथा पूर्वप्रतिकार्यमा युवाहरूको भूमिका र नेतृत्व विकासबारे सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा उत्थानशील युवा सञ्जालका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो।