महेन्द्रनगर। शुक्लाफाँटा नगरपालिका वडा नं. ९ को कार्यालयले विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेको छ। वडा कार्यालयले असीग्राम माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री वितरण गरिएको हो।

विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद सामाग्री वितरण गरिएको वडा अध्यक्ष रमेशबहादुर ऐरले बताए।

‘विद्यार्थीहरुलाई अध्ययनसँगै खेलकुदमा पनि अब्बल बनाउनका लागि खेल सामाग्री विद्यालयलाई उपलब्ध गराएका हौं,’ उनले भने, ‘विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अति आवश्यक छ।’ विद्यालयलाई आवश्यक खेलकुद सामाग्री वितरण गरिएको उनले बताए।

उनका अनुसार भलिबल २ थान, भलिबल नेट २ थान, फुटबल २ थान, फुटबल नेट २ थान, फुटबल पोशाक हाफ १६ थान, क्रिकेट ब्याट १६ थान, क्रिकेट पोशाक १६ थान, क्रिकेट ग्लोभ्स २ थान, क्रिकेट किपिङ ग्लोभ्स ४ थान र क्रिकेट टेनिस बल ६ थान वितरण गरिएको छ।
अध्यक्ष ऐरले खेलकुद सामाग्री विद्यालयका खेलकुद शिक्षक दमनबहादुर ओली, दिलबहादुर ऐर र मानबहादुर ऐरलाई हस्तान्तरण गरेका थिए।
वडा कार्यालयले खेलकुद सामाग्री सहयोग गरेसँगै विद्यार्थीहरुलाई खेल गतिविधिहरुमा सहभागी गराउन सहज हुने विद्यालयका शिक्षक ओली बताउँछन्।
वडा नं. ९ को कार्यालयले खेलकुदलाई प्राथमिकता दिदै खेलाडीहरुलाई सामाग्री वितरण गर्दै आएको छ। ‘विगतका वर्षहरुमा पनि खेलाडीहरुलाई आवश्यक सामाग्री सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘वडा स्तरीय प्रतियोगिताहरु प्नि गरिरहेका छौं।’