पाल्पा। जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्ट छन्।

विष्टको घरमा डेरमा बस्दै आएका रिव्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई पक्राउ गरेको हो। बुढाथोकी केही समयअघिदेखि विष्टको घरमा डेरा लिएर बस्दै आएका थिए।

बुढाथोकीले मजदुरीको काम गर्दै आएका थिए। प्रहरीकाअनुसार बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेराको कोठामा मृत भेटिएका हुन्।

बुढाथोकीको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।