रेल दुर्घटनामा अस्ताए बुवाआमा र छोरा, अधुरै रह्यो छोरा-बुहारी भेट्ने इच्छा

प्रकाशित:

कञ्चनपुर। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कालापानीडाँडाकी ४२ वर्षीया मैसरा विक कहिल्यै भारत गएकी थिएनन्।

उनका श्रीमान् ४५ वर्षीय नन्दराम विक महाराष्ट्रको पुनामा काम गर्थे। परिवारको गर्जो टार्न वर्षौं भारतमा बिताएका उनी आउजाउ गरिरहन्थे। जेठा छोरा राजेन्द्र सुर्खेतमा पढ्छन्। माइला छोरा भारतमै काम गर्छन्।

छोराको पढाइ र घरखर्च जोहो गर्न नन्दरामले श्रीमती मैसरालाई पनि आफूसंगै बोलाउने निधो गरे। कहिल्यै भारत नगएकी उनलाई लिन श्रीमान नन्दराम नेपालगञ्जसम्म आएका थिए।

७ माघमा मैसरा कान्छा छोरा ११ वर्षीय हिक्मतलाई लिएर श्रीमान्सम्म पुगिन्। साथमा गाउँकै अन्य १२ जना पनि थिए। जेठा छोरा राजेन्द्रले आमा मैसरा र भाइ हिक्मतलाई नेपालगञ्जमा बिदाइ गरेका थिए। भारत जान बुवा नन्दरामको जिम्मा लगाएर फर्केका राजेन्द्रले परिवारका तीनै सदस्यलाई रेल दुर्घटनामा गुमाए।

‘सकेजतिको काम गर्ने र छोराको पढाइ पनि त्यतै गर्ने उद्धेश्यले जान लागेका थिए,’ पञ्चदेवल विनायक नगरपालिका–४ का अध्यक्ष हर्कबहादुर बडुवालले भने, ‘घरबाट हिँडेको तेस्रो दिनमै रेल दुर्घटनामा परेर मृत्यु भएको दुःखद् खबर सुनियो।’

भारतको महाराष्ट्र राज्य अन्तर्गत जलगाउँ जिल्लाको परधाडे स्टेसन नजिकै भएको रेल दुर्घटनामा परेर नन्दराम, मैसरा र उनका छोरा हिक्मतको मृत्यु भएको हो। उनीहरुको शुक्रबार भारतमै अन्त्यष्टि गरिएको परिवारजनले बताएका छन्।

नन्दरामका भाइ दशरथका अनुसार गाउँबाटसंगै गएका केही मानिस गुजरात जानका लागि छुट्टिएका थिए। अरु सबै रेलको एउटै डिब्बामा बसेका थिए।

सवार यात्रुले रेलको पांग्राबाट धूवाँ निस्किएपछि सम्भावित आगलागीको डरले लिकमै हाम फालेका थिए। त्यस क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको अर्कोे रेलले उनीहरूलाई किचेको थियो।

‘भारतमै काम गरेर घरखर्च चल्छ। काम नगरे खानलाउन पनि पुग्दैन,’ दशरथले भने, ‘परिवारका ३ जनाको दुखान्तले ठूलो बज्रपात परेको छ।’ ११ वर्षीय हिक्मत गाउँमै कक्षा ६ मा अध्ययन गर्थे।

त्यही रेल दुर्घटनामा परेर अछामको कमलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला विकले पनि ज्यान गुमाइन्। जयकलाको माइती पञ्चदेवल विनायक नगरपालिका–४ मा पर्छ। जयकला नाताले मैसराकी फुपू नाता पर्छिन्।

जयकला पनि गाउँबाट भारत जान मैसरासँगै आएकी थिइन्। कमलबजार नगरपालिका–४ का अध्यक्ष मिनबहादुर साउदका अनुसार जयकलाका जेठा छोरा मोतीराम र उनकी बुहारी महाराष्ट्रको भिउण्डीमा काम गर्छन्।

आफ्नो उपचार र छोरा बुहारी भेट्न जयकला महाराष्ट्र जाँदै थिइन्। तर उनले छोरा–बुहारी भेट्न पाइनन्। बाटोमै रेलले किचेर उनको मृत्यु भयो।

साथमा रहेका उनका ८ वर्षीय र १० वर्षीय नाती घाइते भए। जयकलाका तीन छोरामध्ये साइलाको १० वर्षअघि निधन भएको थियो। माइला घरमै छन् भने जेठा मोतीराम र उनकी श्रीमती भारतमा काम गर्दै आएका छन्।

‘छोरा घर नफर्केको धेरै भएको थियो। नातीलाई पनि छोरा बुहारीसंग भेटाउने, आफू पनि भेटघाट गर्ने र त्यतै उपचार गर्न भनेर भारत गइरहेका थिए,’ वडाध्यक्ष साउदले भने, ‘विपन्न परिवारका उनी (जयकला) गाउँमा मजदुरी गर्थिन्।’

८ वर्षीय नाती गाउँकै लालीगुरास बाल विकास केन्द् र १० वर्षीय नाती मंगलेश्वरी आधारभुत विद्यालययमा पढ्छन्।

ताजा समाचार

सम्बन्धित समाचार