सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब बढी कर्जा प्रवाह

प्रकाशित:

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब रुपैयाँभन्दा बढी परिमाणमा कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन सुदूरपश्चिम प्रदेश: वार्षिक प्रतिवेदन’ अनुसार असार २०८१ सम्म सुदूरपश्चिम प्रदेशमा १ खर्ब ५२ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ । मुलुकको कुल कर्जा प्रवाह ५१ खर्ब ६४ अर्ब रुपैयाँ बराबर छ ।

यो परिमाण कुल कर्जाको करिब ३ प्रतिशत हो । यो परिमाण गत आवको तुलनामा ०.७५ प्रतिशतमात्र बढी हो । त्यो बेला १.५० प्रतिशतले कर्जा प्रवाह बढेको थियो ।

यो प्रदेशमा प्रवाह भएको कर्जामध्ये सबैभन्दा धेरै सेवा क्षेत्रमा छ । असार २०८१ सम्ममा सेवा क्षेत्रको कर्जा अघिल्लो आवको दाँजोमा २.४४ प्रतिशतले बढेर १ खर्ब १० अर्ब ७१ करोड ५६ लाख रुपैयाँ पुगको छ । यो कुल कर्जाको ७२.४४ प्रतिशत हो ।

त्यस्तै औद्योगिक क्षेत्रमा २५ अर्ब ६० करोड १८ लाख रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ । यसमा कैलालीको हिस्सा सबैभन्दा बढी ७८.४४ प्रतिशत र सबैभन्दा कम बाजुरको ०.४१ प्रतिशत छ ।

कृषि क्षेत्रमा भने १.३१ प्रतिशतले कर्जा घटेर १६ अर्ब ५२ करोड ८५ लाखमा सीमित भएको छ ।

असार २०८१ सम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सुदूरपश्चिम प्रदेशमा १ खर्ब ४९ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ बराबर निक्षेप संकलन गरेका छन् । यो गत वर्ष सोही अवधिको दाँजोमा ११.३२ प्रतिशतले धेरै हो । त्यो बेला भने निक्षेप संकलन १६.०९ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षसम्म बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ४७.८५ प्रतिशत र सबैभन्दा कम बाजुरा जिल्लामा २.३९ प्रतिशत रहेको छ ।

त्यस्तै कर्जातर्फ कैलालीको हिस्सा सबैभन्दा बढी ६९.१३ प्रतिशत र सबैभन्दा कम बाजुरामा ०.९९ प्रतिशत रहेको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशमा कुल निक्षेपकर्ता संख्या असार २०८१ सम्म १०.३४ प्रतिशतले बढेर ३७ लाख ९१ हजार ८ सय ६४ पुगेको छ । कुल ऋणी संख्या ४.३० प्रतिशतले बढेर १ लाख ४ हजार ५३ पुगेको छ ।

केन्द्रीय बैंकका अनुसार समीक्षा वर्षमा विपन्न वर्ग कर्जा १.३९ प्रतिशतले घटेर ११ अर्ब ५४ करोडमा सीमित भएको छ । सहुलियतपूर्ण कर्जा भने २९.६२ प्रतिशतले गिरावट भई ६ अर्ब ८१ करोडमा अडेको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ८ सय ५६ छ । यसमा वाणिज्य बैंकका ३ सय २९, विकास बैंक ५२, वित्त कम्पनी ६ र लघुवित्त वित्तीय संस्थाका शाखा ४ सय ६९ छ ।

सुदूरपश्चिममा पर्यटक स्तरका ४६ होटल

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा पर्यटक स्तरका ४६ होटल सञ्चालनमा छन् । यो गत वर्ष सोही अवधिको दाँजोमा ४.१७ प्रतिशतले कम हो ।

ती होटलमा १ हजार ६ सय ७ बेड छ । जुन गत वर्षको तुलनामा १.४७ प्रतिशतले कम हो ।

सुदूरपश्चिमको बजेट खर्च ६३ प्रतिशत

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँ बराबर बजेट विनियोन गरेको थियो । जसको ६३.२६ प्रशित खर्च भएको छ । यो भनेको १८ अर्ब ५१ करोड ३५ लाख ७७ हजार बराबर हो ।

चालु खर्चतर्फ विनियोजन भएको ११ अर्ब ९४ करोडमध्ये समीक्षा वर्ष ७ अर्ब ९५ करोड र पूँजीगत खर्चतर्फ विनियोजन भएको १७ अर्ब २ करोडमध्ये १० अर्ब ५६ करोड खर्च भएको छ । यी क्रमशः कुल विनियोजित बजेटको ६७.०५ र ६२.०६ प्रतिशत बराबर हो ।

ताजा समाचार

सम्बन्धित समाचार