गृहमन्त्री लेखक र भौतिक पूर्वाधारमन्त्री दाहालले गरे महाकाली पुल निर्माणस्थलको निरीक्षण

प्रकाशित:

कञ्चनपुर। महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र गाइडबन्डको काम ६ महिनादेखि बन्द छ । पुलको दुवैतर्फ निर्माण गरिएको गाइडबन्डको नयाँ डिजाइनको भेरिएसन नभएका कारण काम रोकिएको हो ।

निर्माण कम्पनीले पटक–पटक आग्रह गर्दा पनि भेरिएसन हुन सकेको छैन । पछिल्लो पटक पहुँच मार्गमा अवरोधसमेत गरेको छ । समयमै भेरिएसन हुन नसके गाइडबन्ड निर्माण हुन नसके पहुँच मार्गसँगै पक्की पुलसमेत जोखिममा पर्ने देखिन्छ ।

यही समस्या समाधानका लागि शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र गृहमन्त्री रमेश लेखकले निर्माण स्थलको निरीक्षण गरेका छन् । मन्त्री लेखकले भदौ अन्तिम साता महाकाली नदीमा आएको भीषण बाढीले बगाएको गाइडबन्डसँगै सम्भावित क्षतिबारे समेत दाहालको ध्यानाकर्षण गराए ।

‘गाइडबन्ड पनि बलियो गर्नुपर्‍यो, पहुँच मार्ग पनि बलियो बनाएर जेठभित्रै कम्प्लिट हुने वातावरण बनाउनुपर्‍यो,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहितको टिमलाई गृहमन्त्री लेखकले भने, ‘यदि त्यसो भएन भने पुलबीचमा रहन्छ, बस्ती पनि जोखिममा पर्छ ।’ उनले पुलको योजना फेल भएमा दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहको योजना पनि फेल हुन सक्ने बताए ।

यसका साथै बर्खायाममा महाकालीको बाढीले भुजेला खोला थुनिँदा भीमदत्त नगरपालिका–११, १२ र १३ नम्बर वडाका महाकाली किनारका बस्तीहरु डुबानमा पर्ने भएकाले त्यसको निकासका लागि पनि उचित व्यवस्थापन गर्नुपर्ने बताए । मन्त्री दाहाल मन्त्रालयका सचिवसहितको टिमसहित निर्माण स्थलमा पुगेका थिए ।

‘यस विषयमा आवश्यक छलफलपछि निर्णय गरिनेछ,’ मन्त्री दाहालले भने, ‘यसबारे बुझ्नका स्थलगत रुपमा आएको हुँ, अब यसबारेमा केही निर्णय गरिनेछ ।’ उनले यसबारे अध्ययन गर्नकै लागि मन्त्रालयको टिम नै आएको बताए ।

उक्त क्षेत्रका स्थानीयले भने तत्काल गाइडबन्डसँगै भुजेला खोला नियन्त्रणका लागि आवश्यक काम गर्न आग्रह गरेका छन् । बर्खायामअगावै गाइडबन्ड र भुजेला खोला नियन्त्रणको काम नभएमा बस्तीहरु डुबानमा पर्ने भन्दै तत्काल काम सुरु नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार