कञ्चनपुर। सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले सुदूरपश्चिमका विकासका आयोजनाको सवालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालको ध्यानाकर्षण गराएका छन्।
शनिबार कञ्चनपुरको महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुलको स्थलगत अनुगमनका लागि पुगेका मन्त्री दाहालको रावलले ध्यानकर्षण गराएका हुन।
महाकाली करिडोरमा बजेट र जिलेटिन अभावले निर्माणको कामले गति लिन नसकेको उनले बताए। सो उपलब्ध गराएर निर्माणको काम तीव्र गर्नु पर्ने रावलले मन्त्री दाहालसंग माग गरे।
‘करिडोरमा जिलेटिन प्रयोग गर्न नपाएर र उपलब्धता नपाएर सेनाले खनिरहेको रोडको काम सम्पन्न गर्न सकेको छैन। बजेटको अभाव छ,’ उनले भने, ‘करिडोरलाई गम्भीरताका साथ लिएर बजेट र जिलेटिनको उपलब्धता गराउनुपर्छ।’
सुदूरपश्चिमको ‘गेट वे’का रुपमा रहेको गड्डाचौकीदेखि चिसापानी सडकखण्ड ६ लेनको निर्माणका लागि शिलान्यास र काम सम्पन्न गर्न यसपटक थालनी गर्नु पर्ने उनले आग्रह गरे।
हुलाकी सडक ठेकेदारको लापरबाहीले काम अगाडि नबढेकोले त्यसमा सरकारले नजर लगाउनु पर्ने रावलको भनाइ थियो।
‘ठेकेदारले काम गर्दैन। जहिल्यै बजेट फ्रिज हुन्छ। यो प्रवृत्तिलाई निरुत्साहित गर्न ठेकेदारको भुक्तानी भएको छैन भने त्यसमा राज्यले ध्यान देओस्,’ उनले भने।