विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नपाली कांग्रेसबीच गठबन्धन बनेकै दिनदेखि देशमा राजनीतिक दुर्घटनाको खतरा बढेको दाबी गरेका छन् ।
शुक्रबार साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक ढंगबाट बनेको दोहोर्याए ।
‘पहिलो र दोस्रो दल संसद्का मिलेर त्यस किसिमले गठबन्धन बनाए दिनदेखि नै देशमा राजनीतिक दुर्घटनाको खतरा बढेकै छ,’ प्रचण्डले भने, ‘गएको ६ महिना सरकारका क्रियाकलापले पनि राजनीतिक दुर्घटनातिर गएकै छ ।’
सदन बोलाउनुपर्ने बेलामा अध्यादेश ल्याएको र समितिमा विचाराधिन विधेयक फिर्ता नगरी अध्यादेश जारी भएकाले कानुन मिचिएको प्रचण्डको दाबी थियो ।
‘सदनमा प्रस्तुत भएर समितिमा रहेको विधेयकलाई सदनबाट मात्रै फिर्ता लिन सकिन्छ । त्यो फिर्ता नगरी त्यस्तो विधेयकमा पनि अध्यादेश ल्याउने कुराले देशलाई राजनीतिक दुर्घनातिर धकेल्दै छ भन्ने प्रष्ट देखिएको छ,’ प्रचण्डले भने ।
उनले तुरुन्तै सदन बोलाउन आग्रह गर्दै उनले अध्यादेश फिर्ता लिन पनि जरुरी रहेको बताए ।
‘हामीले भनेका छौं, तुरुन्तै सदन बोलाइयोस् । यो अध्यादेश फिर्ता लिन जरुरी नै छ । दुई तिहाइको सरकार छ भन्नेले त सदनकै प्रक्रियाबाट गए भइहाल्यो नि । फेरि कुबाटो किन हिँड्नुपर्यो । अलोकतान्त्रिक र स्वेच्छाचारी बाटो हिँड्नुपर्यो रु,’ प्रचण्डले भने ।