काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरूद्ध जाहेरी दिएका छन्। उनले आफूमाथि ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव भएको भन्दै प्रहरी वृत्त सिंहदरवारमा बिहीबार जाहेरी दिएका छन्।
बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्किँदै गरेका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा कुटपिट भएको थियो। त्यही क्रममा ललितकुमार केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी वृत्त सिंहदरवारले जनाएको छ।
सिसिटिभीमा हेरेर त्रिपाठीले केसीलगायत आफूमाथि कुटपिट गर्ने व्यक्तिलाई कारवाहीको माग गर्दै जाहेरी दिएका छन्। त्यसमा प्रहरीले सिसिटिभीका फोटो हेरेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
नेपाली कांग्रेसले पनि अधिवक्ता त्रिपाठीमाथि जिल्ला अदालत परिसरमा भएको हातपातको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरभित्रै एक्कासी आक्रमण र दुर्व्यवहार भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका हुन्।