कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा ‘पुसे पन्ध्र’ पर्व मनाइँदै छ । आजको रात सबैभन्दा लामो हुने विश्वासमा ठूली रात मान्दै मिठा परिकार परिकार खाएर पर्व मनाउने चलन छ ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीका अनुसार पुसे पन्ध्र सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो । ‘आजको रातलाई सबैभन्दा ठूलो मान्ने चलन यहाँ छ,’ उनले भने, ‘रातभर आगो बालेर जाग्राम बस्ने चलन छ । मिठा परिकार पनि खाने चलन छ । तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै लाउन, बाबर, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका परिकार खाने चलन छ ।’
डा. जोशीका अनुसार डोटेली लोकसंस्कृतिमा लोक कथा, दन्त्य कथा र बातै सुन्ने तथा सुनाउने पर्वको रूपमा पनि पुसे पन्ध्रलाई लिने गरिन्छ । ‘यो पर्वमा कतै १५ हात लामो काठ जलाएर आगो ताप्ने परम्परा छ भने कतै १५ प्रकारका परिकार खाने पनि चलन छ,’ उनले भने ।
यो पर्वमा रातभर नसुत्ने परम्परा रहेको हुँदा रात काट्नैका लागि कुनै गाउँमा डेउडा खेल्ने चलन पनि रहेको छ । आजको दिन सुदूरपश्चिममा घाँस काट्ने हँसिया, दाउरा चिर्ने बञ्चरो नचलाउने चलन रहेको छ ।