बैतडी। बैतडीमा मानव र वन्यजन्तुबिच द्वन्द्व नरोकिँदा महिनैपिच्छे चितुवा पासोमा पर्न थालेका छन् ।
जिल्लामा २०६८ सालदेखि हालसम्म चितुवाको आक्रमणमा २८ जनाको ज्यान गएका छन् भने पासोमा परेर २९ वटा चितुवाको मृत्यु भइसकेको छ ।
सोमबार राति दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित कुमालीगाड पासोमा फसेको चितुवा मङ्गलबार अपराह्न घाइते अवस्थामै भागेको छ ।
पासोमा परेको चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाको टोली बैतडी आइपुग्दा पासो चुँडालेर घाइते अवस्थामै चितुवा भागेको छ ।
पासोमा परेको चितुवाको घाँटीमा घाउ भएको वन कार्यालयका कर्मचारीको भनाइ छ । गत असोज महिनामा यस्तै प्रकृतिको अर्को चितुवा पनि दशरथचन्द नगरपालिका–१, गुरुखोलामा पासोमा फसेको थियो ।
सो चितुवा पनि पासो चुँडालेर घाइते अवस्थामै भागेको थियो । जिल्लामा उद्धार गर्ने जनशक्ति नहुँदा पासोमा परेका चितुवाको समयमै उद्धार गर्न नसक्दा घाइते अवस्थामा भाग्ने गरेको डिभिजन वन कार्यालय बैतडीका कार्यालय प्रमुख भरतराज भट्टले बताए ।
उनल भने, “जङ्गली बँदेलबाट बालीनाली जोगाउन जिल्लाभरि पासो थाप्ने चलन छ । अधिकांश पासोमा चितुवा पर्ने गरेका छन् । वन कार्यालयसँग उद्धार गर्ने जनशक्ति नहुँदा पासो चुँडालेर घाइते अवस्थामै चितुवा भाग्ने र मर्ने गरेका छन् ।”
यसअघि दशरथचन्द नगरपालिका–४, बिनासौँ गाउँमा पासोमा परेको गर्भवती चितुवाको उद्धार गरिए पनि त्यसको मृत्यु भएको थियो ।
पासोमा फसेको चितुवाको उद्धार गर्न बेहोस बनाउन डाट्रिङ विधि प्रयोग गर्नुपर्ने भएकाले सो जनशक्ति वन कार्यालयमा नहुँदा एक दिनको दुरीमा रहेको कञ्चनपुरको शुक्लाफाँटाको टोली मगाउँदा ढिलो हुने गरेको वन कार्यालयका प्रमुख भट्टले बताए ।
मानव र वन्यजन्तुबिचको द्वन्द्वमा बैतडीको तल्लोस्वराड क्षेत्रका तीन वटा पालिका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका प्रभावित छन् ।
पछिल्लो समय चितुवा प्रभावित तल्लोस्वराड क्षेत्रमा राष्ट्रिय प्रकृति संरक्षण कोषले द्वन्द्व न्यूनीकरण गर्न समुदायस्तरमा सचेतना फैलाएपछि चितुवाले आक्रमण गरेको छैन । तथापि मानवले थापेको पासोमा परी चितुवा घाइते हुने क्रम रोकिएको छैन ।
डिभिजन वन कार्यालयले जिल्लाभरि ३७५ भन्दा बढी सामुदायिक वन समूह गठन गरेका छन् । वन सम्पदाको संरक्षण गर्ने जिम्मेवारी समुदायमै हस्तान्तरण गरे पनि बँदेलका लागि पासो थाप्ने प्रवृत्ति रोकिन नसकेको डिभिजन वन प्रमुख भरतराज भट्टको स्विकारोक्ति छ । अधिकांश सामुदायिक वनमध्ये काठ बिक्री गरेर वार्षिक पाँचदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्ने सामुदायिक वनले मानव–वन्यजन्तु द्वन्द्व समाधानमा खर्च नगरेको उनको भनाइ छ । सामुदायिक वनको रकम सडक निर्माण, विद्यालयका निजी स्रोतका शिक्षकलाई तलबमा खर्च हुने गरेको पाइएको छ । समुदाय सचेत भएर पासो थाप्ने काम रोक्न सके मात्रै मानव–वन्यजन्तुबिच द्वन्द्व न्यूनीकरण हुने राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले बताए ।
उनले बैतडीको तल्लोस्वराड क्षेत्रका तीन वटा स्थानीय तह मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा चितुवासम्बन्धी अध्ययन गर्न विज्ञ टोली खटाएको बताए । अध्ययन टोलीले वन्यजन्तुको अनुगमन, वासस्थान र जैविक मार्गको पहिचान गरेर नक्साङ्कन गर्ने काम सुरु गरेको बताइएको छ ।