कञ्चनपुर । परमानन्द नाथ २०७८ साल असोजमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बाँगफाँटामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न आउँदा विद्यालयमा १५० जना विद्यार्थी थिए । कक्षा १२ सम्म पढाइ हुने सामुदायिक विद्यालयमा १५० जना विद्यार्थी एकदमै न्यून हो ।
परमानन्दका सामु विद्यार्थी सङ्ख्या बढाउनु पहिलो चुनौती थियो । यसका लागि उनले विद्यालय सुधारको योजना अघि सारे । विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवाला सबैको साथ र सहयोग उनले मागे ।
सोही क्रममा अभिभावकहरूको भेला राखेर परमानन्दले भने, ‘म अगाडि बढ्छु, तपाईँहरूको साथ चाहियो ।’ अभिभावकहरूले उनलाई साथ दिने प्रतिबद्धता जनाए ।
उनले विद्यालयका संस्थापक व्यक्तिहरूसँग समेत छलफल गरे । प्रत्येक अभिभावकलाई बोलाएर समेत उनले छलफल गरे । पटक–पटकको छलफल तथा सर्वदलीय बैठकपछि उनले सकारात्मक सन्देश पाए ।
सुधारको पहिलो खुड्किलोका रूपमा परमानन्दले अङ्ग्रेजी माध्यमबाट पढाउने निर्णय गरे । ‘अङ्ग्रेजी माध्यममा पढाउने होडबाजी चलिरहेको थियो । त्यही भएर हामीले पनि अङ्ग्रेजी माध्यममै पढाउनु पर्छ भन्यौँ,’ उनले भने, ‘सुरुवात आफैँबाट गर्नुपर्छ भनेर मेरो छोरालाई कक्षा ८ मा भर्ना गरेँ । २०७९ सालमा आधा जति शिक्षक कर्मचारीले आफ्ना छोराछोरीलाई लक्ष्मी माध्यमिक विद्यालयमै भर्ना गर्नुभयो ।’
२०८० मा ७० प्रतिशत शिक्षक कर्मचारीले आफ्ना छोराछोरीलाई बोर्डिङबाट छुटाएर ल्याए । २०८१ मा आइपुग्दा विद्यालयका ९९ प्रतिशत शिक्षक कर्मचारीका छोराछोरी भर्ना भइसकेका छन् ।
विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाउनुका अतिरिक्त बोर्डिङको मोडल नै अपनायो । नर्सरी, एलकेजी, यूकेजी कै मोडलमा कक्षा सञ्चालन भयो ।
प्रधानाध्यापक परमानन्दले शिक्षकहरूलाई समेत कडाइ गर्न थाले । प्रत्येक शिक्षकलाई होमवर्क डायरी दिने, कक्षामा मनिटरको व्यवस्था गरी मनिटरलाई सोधेरमात्रै बाहिर जाने व्यवस्था मिलाइयो । यसले विद्यालयमा अनुशासन कायम गरायो । विद्यार्थीमा मात्रै नभई शिक्षक–कर्मचारीहरू समेत अनुशासित बने ।
विद्यार्थीलाई निःशुल्क होमवर्क डायरी दिन थालियो । शैक्षिक क्यालेन्डर बनाएर अक्षरशः पालना गरियो । उनले विद्यालयको नेतृत्व सम्हालेको दोस्रो वर्षमै विद्यालयमा सुधार देखियो । विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरूले सुधारको अनुभव गरे ।
विद्यालयमा अतिरिक्त क्रियाकलापलाई बढी जोड दिइयो । गाह्रो लाग्ने विषयहरू विज्ञान, गणितलाई कसरी सहज बनाउने भन्ने विषयमा अभ्यासहरू हुन थाले । साइन्स एक्जिभिशन, म्याथमेटिक्स क्लब बनाएर विद्यार्थीलाई सहज सिकाइको सुरुवात गरियो ।
हरेक शुक्रबार अनिवार्य रूपमा अतिरिक्त क्रियाकलाप गर्न थालिएको छ । शुक्रबारलाई ‘किताबरहित’ दिनका रूपमा विकास गरिएको छ । विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई सूचना र प्रविधिमैत्री बनाउन थालियो । फेसबुक म्यासेन्जरमा ग्रुप बनाएर विद्यार्थीहरूका लागि सन्दर्भ सामग्रीहरू पठाउन थालियो ।
‘विद्यालयमा लगातार अनुपस्थित भएका विद्यार्थीबारे अभिभावकहरूलाई जानकारी गराउँछौँ । जसले गर्दा विद्यार्थी विनाकारण अनुपस्थित हुने समस्यासमेत कम भएको छ,’ प्रधानाध्यपक परमानन्दले भने ।
नियमित अतिरिक्त क्रियाकलाप गर्दा त्यसको नतिजा देखिन थालेको छ । जिल्लास्तरीय भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेपछि विद्यालयले जिल्लामै पहिचान बनाएको छ । हाजिरी जवाफ प्रतियोगितामा समेत दोस्रो तथा साइन्स एक्जिभिशनमा पहिलो स्थान हासिल गरेको थियो ।
यो शैक्षिक वर्ष विद्यालयमा ५८० विद्यार्थी छन् । दुई वर्ष अगाडि १५० जना विद्यार्थी रहेको उक्त विद्यालयले यो पटक प्रवेश परीक्षा लिएरमात्रै विद्यार्थी भर्ना गराएको थियो । यो वर्ष १५० जना विद्यार्थी थपिएका छन् । ती सबै आसपासका निजी विद्यालयबाट आएका विद्यार्थी हुन् । भवनको अभावमा विद्यालयमा आएका सबै विद्यार्थी भर्ना गर्न नसकिएको प्रधानाध्यापक परमानन्दको गुनासो छ ।
सिकाइको वर्ष
विद्यालयले २०८१ लाई सिकाइको वर्ष मनाउँदैछ । यसका लागि टोल शिक्षकको अवधारणा अघि बढाइएको छ ।
‘कक्षा १२ पास गरेका र समुदायमा पढेका मान्छे छन् भने हाम्रो विद्यालयमा पढ्ने तर, कम जान्ने विद्यार्थीहरूलाई त्यही टोलमा एकीकृत गर्ने र अभिभावकलाई समन्वय गरेर पढाइदिने भन्ने योजना छ,’ प्रधानाध्यापक परमानन्दले भने ।
विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था छैन । निजी स्रोतबाट १५ जना शिक्षक राखिएको छ । विगत तीन वर्षदेखि सामाजिक शिक्षकको अभाव छ ।
त्यहाँ भएका शिक्षकलाई विद्यालयको सहमतिविना नगरपालिकाले अर्को विद्यालयमा काज सरुवा गरिदिएको थियो । त्यस यता विद्यालयमा सामाजिक विषयको शिक्षक आउन सकेका छैनन् । पटक–पटक शिक्षकको माग गर्दा पनि नदिएको प्रधानाध्यापक परमानन्दको भनाइ छ ।
मुद्दाको सामना गर्दै विद्यालय
नमुना विद्यालय बन्न अघि बढिरहँदा विद्यालयले थुप्रै मुद्दाको सामना गर्दै आएको छ । सार्वजनिक विद्यालयले कसरी अङ्ग्रेजी माध्यममा पठनपाठन गर्न थाल्यो रु शुल्क किन लिन थाल्योजस्ता कारण देखाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि विभिन्न निकायमा मुद्दा परेका छन् । विद्यालयका विरुद्धमा १० भन्दा बढी मुद्दा परेको प्रधानाध्यापक परमानन्दले बताए ।
मुद्दाका कारण सबैभन्दा मानसिक तनाव खेप्नु परेको उनको भनाइ छ । ‘हाम्रो विद्यालयमा चार्मिङ देखेर, विद्यार्थीहरू यता आउन थालेपछि मुद्दा हालेछन् । पछि अदालतमा हामीले मुद्दा जित्यौँ । अभिभावकहरूको स्वैच्छिक आर्थिक सहयोग रहेछ भनेर अदालतले सफाइ दियो । अभिभावकहरूको तर्फबाट पनि हामी दिन तयार छौँ, भनेर डिफेन्स गरे जसले हामीलाई सजिलो भयो,’ उनले भने ।
विभिन्न विद्यार्थी संगठन आएर शुल्क किन लिएको भनेर बेलाबेला धम्क्याउँदै आएको उनले बताए । संविधानले निःशुल्क भनेको छ, शुल्क लिन पाइँदैन भनेर धम्क्याउने, तालाबन्दी गर्ने त्रास देखाउने गरेको उनको भनाइ छ ।
वर्षमा १५ लाख आम्दानी, २५ लाख खर्च
विद्यालयले वर्षभरिमा अभिभावकहरूबाट स्वैच्छिक रूपमा पाँच हजार रुपैयाँ आर्थिक सहयोग लिने गरेको छ । आर्थिक अवस्था कमजोर भएकाहरूका छोराछोरी निःशुल्क रूपमा पढ्दै आएका छन् । अभिभावकहरूकै भेला गरेर स्वैच्छिक रूपमा आर्थिक सहयोग गर्दै आएको प्रधानाध्यापक परमानन्दको भनाइ छ ।
उनका अनुसार गत वर्ष अभिभावकहरूले दिएको आर्थिक सहयोगबाट १५ लाख रुपैयाँ जति उठेको थियो । तर, खर्च भने २५ लाखभन्दा बढी हुने गरेको छ । विद्यालय घाटामा चलिरहेको छ । तर पनि विद्यार्थीको भविष्यसँग घाटा–नाफाको तुलना नहुने भन्दै विद्यालयले विभिन्न क्रियाकलाप गर्दै आएको छ ।
स्थानीय तहबाट विद्यालयलाई आर्थिक सहयोगकै नाममा गत वर्ष एक लाख ८ हजार रुपैयाँ आएको थियो । पालिकाले छात्रवृत्ति उपलब्ध गराउँछ । त्यस्तै पाठ्यपुस्तकको रकम आउँछ । स्थायी शिक्षकहरूको लागि तलब भत्ताको रकम आउँछ । मसलन्द खर्च भनेर ७७ हजार रुपैयाँ आउँछ ।
त्यो बाहेक सबै खर्च विद्यालयले नै व्यवस्थापन गर्दै आएको प्रधानाध्यापक परमानन्दको भनाइ छ । ‘सरहरूको तलबदेखि लिएर सबै कुरामा वार्षिक २५ लाख खर्च हुन्छ । मासिक ८/९ हजार रुपैयाँ बिजुलीको बिल उठ्छ । त्यस्तै खानेपानीमा ६/७ हजार उठ्छ । शिक्षकहरूलाई नै न्यून तलबमा काम लगाउनुपर्ने अवस्था छ,’ उनले भने ।
‘कहिलेकाहीँ यो सब कसका लागि ? किन गर्दैछु भनेर आफ्नो मनमा प्रश्न उठ्छ । शिक्षा स्थानीय सरकार मातहत भएपछि उहाँहरूले कुनै चासो नदिएको अवस्था छ । हामीले मात्रै खटिनुपरेको छ, यसले निराशा बढाउँछ,’ प्रधानाध्यापक परमानन्दले भने ।
शिक्षक कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समितिको सहयोगले गर्दामात्रै काम गर्न सकिरहेको उनको भनाइ छ । विद्यालयमा हाल कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, पुस्तकालय, शुद्ध खानेपानी, सीसीक्यामेरा जडान गरिएको छ । सरस्वती मन्दिर अगाडि सुन्दर बगैंचा, चिल्ड्रेन पार्क निर्माणाधीन, गणित पार्क निर्माणाधीन छन् भने चमेनागृह लगायतका भौतिक पूर्वाधारको व्यवस्था गरिएको छ ।
अबको पाँच वर्षपछि विद्यालयको प्रशासनिक गतिविधिलाई पेपरलेस बनाउने, विद्यालयमा स्विमिङ पुल, संगीतगृह बनाउने, हरेक कक्षामा स्मार्टबोर्ड जडान गरी आईसीटीको १०० प्रतिशत प्रयोग गरी पठनपाठन गराउने योजना रहेको प्रधानाध्यापक परमानन्दले बताए ।
त्यस्तै नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यमबाट प्राविधिक शिक्षासहित पठनपाठन गराउने योजना रहेको उनले सुनाए ।
सक्रिय विद्यालय व्यवस्थापन समिति
विद्यालयलाई यो अवस्थासम्म पुर्याउन वर्तमान विद्यालय व्यवस्थापन समितिको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । हालैमात्र भारतीय राजदूतावासबाट उपहारमा एउटा गाडी पाएको थियो । उक्त गाडीले विद्यार्थीहरूलाई विद्यालयमा ल्याउने र बेलुका घर पुर्याउने काम गर्दै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले प्रधानाध्यापकसँगको सहकार्यमा विद्यालय सुधारको काम भइरहेको बताए ।
विद्यार्थीको चौतर्फी विकासका लागि आवश्यक स्रोत साधन जुटाउनेदेखि लिएर शिक्षकको व्यवस्थापनसम्मको काम गर्नुपरेको उनको भनाइ छ । विद्यालयमा पढ्ने र पढाउने वातावरण बनाउने जिम्मेवारी व्यवस्थापन समितिकै हुन्छ । यसका लागि विद्यालय व्यवस्थापन समितिले अधिकतम समय दिनुपर्छ ।
अध्यक्ष भण्डारी अहिले दोस्रो कार्यकाल सम्हालिरहेका छन् । पहिलो कार्यकालमा व्यवस्थापन समितिको नेतृत्व लिइरहँदा उनीमाथि थुप्रै खालका चुनौती थिए । एकातिर दिन प्रतिदिन विद्यार्थी घटिरहेका थिए भने अर्कोतिर शिक्षक कर्मचारीहरूमा मनपरीतन्त्र थियो । सुरुमा उनले यी दुवै चुनौतीको सामना गर्दै अघि बढ्ने योजना बनाए ।
‘सुरुमा विद्यालयमा भौतिक स्रोतको अभाव थियो । टिनका छानाहरू थिए । ती विस्थापन गरेर भौतिक पूर्वाधारको विकासमा जोड दियौँ । शैक्षिक सामग्रीको विकास पनि गरियो । कम्प्युटर ल्याब, साइन्स ल्याबको समेत व्यवस्थापन गरियो,’ अध्यक्ष भण्डारीले भने ।
शिक्षकहरूलाई नियमन तथा नियन्त्रण गर्ने, दण्ड सजायको पनि व्यवस्था गर्ने, स्रोत साधनको व्यवस्थापन गर्ने, युग सुहाउँदो शिक्षामा नयाँ–नयाँ प्रविधिको व्यवस्था गर्ने, प्रविधिमैत्री विद्यालय बनाउन आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापनमा ध्यान दिइएको अध्यक्ष भण्डारीले बताए ।
लक्ष्मी माविलाई जिल्लाकै मात्र नभएर देशकै नमुना विद्यालय बनाउने योजना रहेको अध्यक्ष भण्डारीले बताए । स्मार्ट तथा स्टार विद्यालय बनाएर गरिबका छोराछोरीले राम्रो शिक्षा पाउन भन्ने योजना रहेको उनको भनाइ छ ।